झापा, चैत १५ । यो बर्षको आज सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् ।

जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैङ्गिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत वर्षको तुलनामा यसपटक परीक्षार्थी १२ हजारले कम छन् । यस वर्ष थपिएका २७ वटासहित देशभरका २ हजार ६४ केन्द्रमा परीक्षा हुँदैछ । यस्तै विदेशस्थित एक मात्र परीक्षा केन्द्र जापानमा गैरआवासीय नेपालीले सञ्चालन गरेको एभरेस्ट इन्टरनेशनल विद्यालयका २३ विद्यार्थी पनि सहभागी हुँदै छन् । उक्त विद्यालयबाट परीक्षा दिने यो तेस्रो ब्याच हो । त्यहाँ अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

चैत २७ सम्म हुने परीक्षामा सामुदायिक र निजी गरी १० हजार ८ सय ६ विद्यालयका परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । यसपटक नयाँ पाठ्यक्रमका आधारमा एसईई परीक्षा सञ्चालन हुन लागेको बोर्डले जनाएको छ । परीक्षार्थीको मूल्यांकनसमेत नयाँ लेटरग्रेडिङ पद्धतिअनुसार हुनेछ ।
झापामा १५ हजार ८२२ जना विद्यार्थी परीक्षामा सामेल हुँदैछन् । नियमिततर्फ साधारणमा १४ हजार ९५७ र प्राविधिक धारमा ५५० जना र ग्रेडबृद्धितर्फ ३१५ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । झापामा छात्रभन्दा छात्राको संख्या बढी रहेको छ ।८ हजार १४५ जना छात्रा र ७ हजार ६७७ जना छात्र रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राजकुमार विकले बताए । झापामा ५७ वटा परीक्षा केन्द्र रहेका छन् ।

२०७६ मा परिवर्तन भएको विद्यालय तहको पाठ्क्रयमअनुसार यसपालि एसईईमा सहभागी हुने विद्यार्थी पहिलो ब्याचका हुन् । परीक्षाको मूल्यांकन र नतिजा प्रकाशनमा पनि यो वर्षदेखि नयाँ लेटर ग्रेडिङ लागू हुँदैछ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजामा ननग्रेडिङमा पर्नेछन् । दुई विषयसम्म ननग्रेडिङमा परे ग्रेडवृद्धि परीक्षा दिन पाइने र सोभन्दा बढीमा ननग्रेड भए अर्को वर्ष पुनः परीक्षा दिनुपर्ने व्यवस्था छ ।यसअघि सैद्धान्तिक र प्रयोगात्मकतर्फको जोडेर ३५ अंक ल्याए विद्यार्थी ग्रेडसिट प्राप्त गर्थे । अब सैद्धान्तिक र प्रयोगात्मकको छुट्टाछुट्टै ग्रेडिङ हुने व्यवस्था गरिएको छ । नयाँ पाठ्यक्रमले गणितसहितका प्रत्येक विषयमा २५ पूर्णांकको प्रयोगात्मक परीक्षा हुने र बाँकी ७५ पूर्णांकको सैद्धान्तिक परीक्षा हुने व्यवस्था गरेको हो । प्रयोगात्मक परीक्षा भने विद्यालयले नै सञ्चालन गरेर प्राप्तांक बोर्डमा पठाएका छन् । कक्षा १२ को परीक्षाको मूल्यांकन र नतिजामा उक्त पद्धति २०७८ देखि नै लागू हुँदै आएको छ । जसमा करिब ५० प्रतिशत विद्यार्थी मात्रै ग्रेडिङमा पर्न सफल छन् ।

नयाँ पाठ्यक्रम भए पनि विद्यार्थीले धेरै पटक यस्तै प्रकृतिका परीक्षा दिएका कारण सामान्य रूपमा लिनुपर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए । बोर्डले परीक्षालाई मर्यादित, स्वच्छ, व्यवस्थित, भयरहित र शान्तिपूर्ण बनाउन सरोकारवालाहरूसँग अपिलसमेत गरेको छ । ७७ वटै जिल्लामा सञ्चालन हुने परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक सहयोगी, कर्मचारी र सुरक्षाकर्मी गरी ७७ हजार ५ सय ५ जना जनशक्ति परिचालन हुँदै छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्