झापा,चैत २२ । कन्सुलर सेवा विभागले बिहीबारबाट विदेशमा बसेका नेपालीहरुका गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत दर्ता गराउन सक्नेगरी नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ ।

बिहीबार विभागस्थित कार्यालयमा एक कार्यक्रमबिच गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने अनलाइन प्रणालीको शुभारम्भ गरेको हो । नयाँ मोड्युलको अनलाइन प्रणालीको शुभारम्भ गर्दै उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कन्सुलर सेवा अनलाइनबाटै लिनसक्ने कामको प्रचारप्रसार गर्न नसक्दा विभागमा धाइरहने समस्या रहेको भन्दै व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।

उनले कन्सुलर सेवा गाउँपालिका, नगरपालिकाबाटै अनलाइन फारम भरेर लिन सकिने उल्लेख गरे । उनले फारम भरेपछि विभागले तत्काल नै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले बिहीबारबाट प्रारम्भ भएको नयाँ मोड्युलले सबै नियोगहरुमा तथा देशभित्र र बाहिर पनि सबैले कन्सुलर सेवा प्राप्त गर्नका निम्ति अनलाइनबाट नै सेवा लिन सकिने व्यवस्था सुरु गरेको बताए ।

उपप्रधनमन्त्री श्रेष्ठले सरल र पारदर्शी ढङ्गले कन्सुलर सेवा हरेकले प्राप्त गर्नसक्ने व्यवस्थाअन्तर्गत नयाँ मोड्युल आजदेखि प्रारम्भ भएको बताए । उनले आगामी एक हप्ताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमीकहरु घाइते र मृत्यु भएको अवस्थामा उनीहरुको क्षतिपूर्तिसहितको माग दाबीका लागि दूतावास नै पुग्नुपर्ने समस्या घरबाटै गर्नसक्ने गरी व्यवस्था गर्ने पनि बताए । उनले समस्या समाधानका लागि घरबाटै फारम भरेर काम गर्नसक्ने व्यवस्था गर्न लागेको बताए ।
चालु आर्थिक वर्ष २०८०-०८१ को फागुन मसान्तसम्म विभागले प्रमाणीकरणका लागि सेवा प्रवाह गरिएको सेवाग्राहीको संख्या तीन लाख ७२ हजार ४२९, अनलाइन कन्सुलर प्रमाणीकरण सेवा लिने सेवाग्राही संख्या तीन लाख तीन हजार ७५१, प्रमााणिकरण गरिएका कागजातको संखया चार लाख २९ हजार ७४५, अनलाइन कन्सुलर प्रमाणिकरण गरिएका कागजातको संख्या तीन लाख तीन हजार ७५१, प्रमाणीकरणबाट उठेको राजस्व रकम २१ करोड ६१ लाख ७७ हजार ५३९ रहेको बताएको छ ।

त्यस्तै, विभागले आर्थिक वर्ष २०८०-०८१ को फागुन मसान्तसम्म प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणबाट उठेको जम्मा राजस्व १५ करोड १८ लाख ७५ हजार ५ सय, अन्य कागजातबाट उठेको राजस्व ६ करोड २९ लाख ९७ हजार उठेको बताएको छ ।

त्यस्तै आर्थिक वर्ष २०८०-०८१ को फागुन मसान्तसम्म विभिन्न देशमा गएका नेपाली नागरिकहरुको खोज, तलास तथा उद्धारका लागि पहल गरिएको संख्या पाँच सय ९३, विदेशमा मृत्यु भएका वा घाइते भएका नेपालीहरु नागरिकहरुको क्षतिपूर्तिको रकम माग गर्न पठाइएको संख्या २०१, विदेशमा मृत्यु भएका नेपालीहरुको शव झिकाउने तथा विदेशमा दाहसंस्कार गरिएको संख्या १५२ रहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्