लक्ष्मी उप्रेती,
मेचीनगर । मेचीनगर नगरपालिकाले ‘सफ्टवेयर डेभलपमेन्ट तथा खोज कर्नल’ स्थापना गर्नका लागि संघीय सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसंग बजेट माग गरेको छ ।

‘सफ्टवेयर डेभलपमेन्ट तथा खोज कर्नल’ स्थापना गर्नका लागि आगामी आर्थिक वर्ष २०८१÷८२ मा आवश्यक बजेट विनियोजनका लागि प्रस्ताव पेश गरिएको हो ।

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नगरपालिकाका तर्फबाट उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रस्तावपत्र पेश गरेको उनको सचिवालयले जनाएको छ । उपप्रमुख उप्रेतीले मन्त्री शर्मालाई बुझाएको प्रस्तावपत्रमा भवन फर्निसिङ तथा डेकोरेशन, कम्प्यूटर सर्भर, सफ्टवेयर, तथा हार्डवेयर प्रविधि खरिद तथा जडान, इलेक्ट्रोनिक्स व्यवस्थापन र मानव स्रोत पर्सन व्यवस्थापन कार्यका लागि तीन करोड रुपैयाँको बजेट प्रस्ताव गरिएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख अशोक भेट्वालले जानकारी दिए ।

मेचीनगर नगरपालिकामा सञ्चालन हुने ‘सफ्टवेयर डेभलपमेन्ट तथा खोज कर्नल’ मा मेचीनगर नगरपालिकालगायत अन्य सबै पालिका, समग्रमा देशव्यापीरुपमा संख्या निर्धारण गरी सो क्षेत्रमा क्षमता विकास गर्न चाहने सबै नागरिकलाई ‘सफ्टवेयर डेभलपमेन्ट तथा खोज कर्नल’ मा आवद्ध गराईने छ ।

नेपाल साथै विश्व बजारमा सफ्टवेयर प्रणालीको माग अत्यधिक रहेको भएपनि उक्त मागलाई परिपूर्ति गर्न सफ्टवेयर डेपलपर तथा सफ्टवेयर इञ्जिनियरहरु अत्यन्तै न्यून रहेको अवस्थामा मेचीनगर नगरपालिकामा ‘सफ्टवेयर डेभलपमेन्ट तथा खोज कर्नल’ भौतिकरुपमा स्थापना गरी सो क्षेत्रमा आवद्ध हुने जनशक्तिलाई क्षमता विकास गरी सफ्टवेयर निर्माण तथा खोज कार्यमा संलग्न गराईने नगर उपप्रमुख उप्रेतीले बताइन् । उक्त ‘सफ्टवेयर डेभलपमेन्ट तथा खोज कर्नल’ मार्फत मेचीनगर नगरपालिकालगायत देशभरिका करीब २५ हजारभन्दा बढी मानव स्रोतलाई सफ्टवेयर विकासको क्षेत्रमा आवद्ध गराई गुणस्तरीय सफ्टवेयर प्रणाली विकास साथै क्षमतावान मानव स्रोत उत्पादन गर्ने उद्धेश्यले ‘सफ्टवेयर डेभलपमेन्ट तथा खोज कर्नल’ स्थापना गर्ने लक्ष्यका साथ नगरपालिकाले मन्त्री शर्मासँग प्रस्ताव पेश गरेको हो ।

सूचना प्रविधि अपरिहार्य भएको भन्दै नगर उपप्रमुख उप्रेतीले यस क्षेत्रमा सरकारी तवरबाट नै लगानी बढाएर पर्याप्त क्षमतावान जनशक्ति उत्पादन गरी सफ्टवेयर प्रणालीमा देश मजवुत हुने र बाहिरी राष्ट्रमा समेत सफ्टवेयर प्रणालीको क्षेत्रमा सेवा प्रदान गरी देशमा आर्थिक उन्नयन हुने विश्वास व्यक्त गरिन् ।

नगरपालिकाको प्रस्तावनापत्र ग्रहण गर्दै यसलाई सकारात्मक रुपमा लिएको विचार मन्त्री शर्माले राखिन् । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले हस्ताक्षर गरेको प्रस्तावनापत्र ग्रहण गर्दै मन्त्री शर्माले नेपाल सरकार तथा आफ्नो मन्त्रालयबाट सबैखाले साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्