भोेलिबाट विक्रम संवत् २०८१ साल हामीमाझ आइपुग्ने छ । नयाँ वर्ष, नयाँ उमंग, नयाँ उल्लास, नयाँ थालनी । सबै कुरा नयाँ छ आज । वर्षभरि रमाइलो होस् भन्ने कामनाका साथ धुमधामले नयाँ वर्ष मनाइन्छ ।

एक वर्ष पूरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन छ । पात्रोको प्रथम दिन तथा वर्ष वा सालको सुरुवातलाई नयाँ वर्ष भनिन्छ । नयाँ वर्ष विश्वमा अलग–अलग तिथिमितिमा फरक–फरक तरिकाले मनाइन्छ । हाम्रो देशमा पनि विभिन्न नयाँ वर्ष मनाइन्छ । तीमध्ये विक्रम संवत्को नयाँ वर्षको सुरुवात वैशाख १ गतेदेखि हुन्छ । नयाँ वर्ष फरक प्रकारको उत्साह एवं विश्वासको क्षणका रूपमा मनाइने नेपाली संस्कृति रहिआएको छ । लहरा तथा रुख–बिरुवामा देखिने नयाँ पालुवा एवं फूलहरूको सुगन्धयुक्त सिरसिर हावा अनि कोइलीको कुहूकुहू र अन्य चराहरूको चिर्बिरले सजिएको बसन्त ऋतुको मनोरम दिनहरूसँगै नवीन उमङ्ग, उल्लास एवं आशा लिएर विक्रम संवतको नयाँ वर्षको आगमन हुन्छ ।नेपालको राष्ट्रिय पात्रो पनि हिन्दू पञ्चाङ्गमा आधारित विक्रम संवतअनुसार छ । यो प्राचीन हिन्दू परम्परा एवं वैदिक गणितमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (इस्वी संवतको पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । विक्रम संवत् नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो ।

विश्वमै समय गणनाका विभिन्न आधार प्राचीन कालदेखि नै चलिआएको पाइन्छ । पश्चिममा विभिन्न एरा तथा भारतवर्षमा युगको चलन छ । तिनै युगहरूभित्र पनि समयका विभिन्न चक्रका रूपमा संवत्लाई लिइन्छ । संवत्को अर्थ वर्ष, साल, इयर आदि हुन् । कालगणनाअनुसार तिनै फेरिने क्रममा अर्थात् पुरानो वर्ष पूरा भएर नयाँ वर्ष लाग्ने क्रममा त्यसलाई विशेष उत्साह एवं उमङ्गका साथ मनाइने विश्वव्यापी चलन छ । अहिलेसम्म विश्वमा कहिलेदेखि नयाँ वर्ष मनाउन थालियो भन्ने कुनै स्पष्ट प्रमाण छैन । तैपनि, पृथ्वीमा जहिलेदेखि समयको गणना वर्षमा गन्ने चलनको विकास भयो, त्यहीँबाट नयाँ वर्ष मनाउने चलन चलेको हो भन्न सकिन्छ । नेपालमा विभिन्न किसिमका नयाँ वर्ष मनाइन्छन् । तीमध्ये विक्रम संवत् पनि एक हो ।

विक्रमादित्यले चलाएको मानिने यो संवत् कहिलेदेखि, किन र कसले चलायो भन्ने विषयमा विद्वान्हरूबीच मतैक्य छैन । विक्रमको अर्थ पराक्रम भएको हुँदा यो उज्जैनका विक्रमादित्यले चलाएका हुन् कि गुप्त शासकहरूमध्ये कसैले चलाएका हुन् कुनै टुङ्गो छैन । कतिपयले यो संवत् नेपालकै एक राजाबाट चलाइएको हो समेत भनेका छन् तर त्यसको पनि पर्याप्त आधार पाइँदैन । यसमा पनि अलि भरपर्दो के देखिन्छ भने भारतको मालवा राज्यमा गणतन्त्र आएपछि विक्रम संवत् त्यहीँबाट ईशापूर्व ५७ देखि सुरु भएको हो
संसारमा हरेक चिज परिवर्तनशील छ । परिवर्तनशील दुनियाँमा प्रत्येक वैशाख १ गते बिक्रम सम्वत्को नयाँ साल प्रारम्भ हुन्छ । नेपालको राष्ट्रिय संवत विक्रम संवत हो ।
सौर्य गणनानुसार एक संवतत्सरमा ३ सय ६५ दिन हुन्छन् । यसअनुसार सूर्य मेष संक्रान्तिबाट आरम्भ भई पुनः सोही राशिमा पुग्ने बेलासम्मको अर्थात् सम्पूर्ण ऋतुको पूरै एक चक्रलाई संवतत्सर भनिन्छ । यसरी, वैशाख १ देखि हुने र यस दिनलाई नव वर्ष शुभारम्भको दिन एवं राष्ट्रिय पर्वका रूपमा मनाइने गरिन्छ ।

चन्द्रमानको हिसाबले समेत चैत शुक्ल प्रतिपदालाई संवतत्सर प्रारम्भ हुने दिन मानिन्छ । यसैले राजा विक्रमादित्यले थालनी गरेको यो पात्रो अंग्रेजी क्यालेन्डरभन्दा ५७ वर्षअघि छ । यसको मतलव जिसस क्राइस्टको जन्मभन्दा ५७ वर्षअगाडि नै विक्रमादित्यले आफ्नो संवत प्रयोगमा ल्याइसकेका थिए । त्यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा आफ्नै रीति, संस्कृति र परम्पराअनुसारका क्यालेन्डर प्रयोगमा रहेका छन् । सेकेन्ड, मिनेट, घण्टा, दिन, रात, वार आदि गरी नै समय उपलब्धीलाई नै नयाँ मानिन्छ ।

जसमा १५ तिथिबाट एक पक्ष भयो र यस्ता दुई पक्षबाट एक महिना हुन्छ । दुई महिनाको एक ऋतु हुन्छ । तीन ऋतुको ६ महिना वा एक अयन हुन्छ । दुई अयन अर्थात् ६ ऋतुको १२ महिना वा एक संवतत्सर हुन्छ । ६० संवतत्सरको ६० नै वर्ष हुन्छ । ज्योतिषशास्त्रअनुसार हिन्दू संस्कृतिमा ६० संवतत्सर रहेका छन् । यिनीहरूको नाम हरेक वर्ष बदलिने गर्दछ र ६० वर्ष पूरा भएपछि पुनः सोही नाम दोहोरिने गर्दछ ।

यस वर्ष प्रमादी संबत्सर परेको छ । हाम्रो देशमा सर्वप्रथम राजा विक्रमादित्य प्रथमको शासन कालदेखि नै नववर्ष आरम्भ भएको ऐतिहासिक तथा धार्मिक ग्रन्थहरूमा उल्लेख छ । यसकारणले गर्दा वैशाख १ देखि सुरुवात हुने नवआगन्तुक समयलाई नेपालीहरूले हर्षकासाथ उल्लासमय वातावरण साथ राष्ट्रिय चाडका रूपमा मनाउने गर्दछन् । यस दिनमा सार्वजनिक बिदा पनि दिइन्छ ।

यसरी प्रत्येक वर्ष नयाँ वर्ष मनाउँदै गर्दा हामीमा पनि नयाँ सोच, नयाँ उमंग जगाउनु पर्छ । नयाँ वर्ष सँधैं बसन्त ऋतुको आगमनसँगै आउने हुँदा प्रकृतिमा पनि एउटा नौलो आभास र अनुभव बनाइरहेको हुन्छ। बोट बिरुवाहरूमा बसन्त ऋतु आगमनसँगै हरियालीले छाउनाले प्रकृतिको मनोरम सुन्दर दृश्यावलोकन मनलाई पनि आनन्दित तुल्याएको हुन्छ ।
नयाँ बोट नयाँ पाउवा समय र कोइलीको मधुर स्वर सँगसँगै काफल पाक्यो भन्ने चराको स्वर वन जंगलमा घन्किरहेको हुन्छ । यसरी, प्रकृतिले पनि आफ्नो स्वरूप बदल्ने यसै अवसर परेको हुँदा बालबालिका, युवायुवती, बृद्धबृद्धा सबै सबैले नयाँ वर्षलाई सुखद अनुभूति रूपमा महसुस गर्दछन् ।

तसर्थ हिजोका दिनको समष्टि रूपमा मूल्यांकन गरी भावी उद्धेश्य पूर्तिको यात्रा आजैदेखि आरम्भ गरौं । विगतमा जे जस्ता घटनाहरू भए पनि मानव जाति जहिले पनि आशा, विश्वास र भरोसा लिएर हिड्नु पर्दछ ।

हाम्रो जीवनको आधार सुखद भविष्यको आशा नै हो । यही सुखद भविष्यको आशाले अभिव्यक्तिको माध्यम दिने गर्दछ र हामीलाई कुनै पनि नव वर्षको नयाँ जोश, जाँगर र उमंग जगाउनु पर्छ ।

त्यसैले नव वर्षलाई सुखद भविष्यको आशालाई संकल्पमा बदलेर अघि बढौं । नयाँ बर्षसँगै पुराना सबै कमिकमजोरीहरुलाई सच्याउँदै अघि बढ्ने प्रण गरेको छु मैले पनि । पुराना कुराहरुमा राम्रोलाई यथावत राख्दै नराम्रालाई सुधारेर अघि बढ्ने संकल्प लिईदै सम्पूर्णमा नव बर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु । धन्यवाद

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्