झापा, बैशाख २ । संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ। आज रातिबाट अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यद्यपि संसद अधिवेशन अन्त्यको पत्र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा आइनपुगेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन्। गिरीका अनुसार आजको कार्यसूचीमा कुनै फरक पर्ने छैन । बिहान ११ बजेको संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा संभावित कार्यसूचीका बारेमा छलफल गरिने गिरीको भनाइ छ।

गिरीका अनुसार आजको संसद बैठकको अन्तिममा राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र पढेर सभामुखले सुनाउने छन्। आजको बैठक पनि कांग्रेसले अवरोध गर्ने तयारी गरेको छ। त्यसअघि गत चैत २८ गते बसेको बैठकमा कांग्रेसले नाराबाजी गरेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।

कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान लिएको छ। आजको संसद बैठक बस्नुअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्