सुरेश आले ‘सर्जु’,
बिर्तामोड । बिर्तामोड १० को सैनिकबजारको इतिहास खोतल्न करिब ६० बर्षअघि फर्किनु पर्छ ।

२०१९ सालमा तत्कालीन राजा स्व. महेन्द्रले इलाम भ्रमण गरेदेखि सैनिकबजारको इतिहास शुरू हुन्छ। पूर्व राजा महेन्द्रले २ सयजना भूपू सैनिकहरुलाई १ हजार बिगाह जंगल फडानी गरि बस्ती बसाएपछि यस क्षेत्रको नाम सैनिक रहन गएको हो । शुरुमा यस क्षेत्रको नाम भूपू सैनिक हुँदै सैनिकबजार रहन गयो भन्ने इतिहासलाई प्रष्ट पार्नेगरी स्तम्भ निर्माण गरिएको छ ।

भूपू सैनिक स्मृति प्रतिष्ठानले बिर्तामोड–१० सैनिक बजार क्याम्पमा निर्माण गरेको सैनिक स्तम्भ आइतवार उद्घाटन गरिएको छ। निर्माण भएको लामो समयापछि सैनिक स्तम्भको उद्घाटन गरिएको हो। पार्कसहित सिसाको घेराभित्र रहेको करिव ६ फिट अग्लो गोर्खा सैनिक प्रतिमाको घुम्टो उघारेर पूर्व उपप्रधान तथा जलस्रोत मन्त्री एबं सांसद राजेन्द्रप्रसाद लिङ्देनले उद्घाटन गरे । स्तम्भ छ धुर जग्गामा निर्माण गरिएको छ।प्रतिष्ठानका अध्यक्ष ज्ञानबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लिङ्देन,बिशिष्ट अतिथिहरु झापा क्षेत्र नं.३ ख का प्रदेश सांसद छबिलाल चुडाल,बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई,बिर्तामोड नगरपालिका वडा न.–१० का वडा अध्यक्ष दुर्योधन गुरुङ, वडाका सदस्य धनकुमारी श्रेष्ठ, सोही वडाका टोल विकास समितिका अध्यक्षहरु, सांसद छबिलाल चुडालका स्वकीय सचिव कृष्ण पोखरेल, महेन्द्र ज्योति मा. बि. का संस्थापक शिक्षक कृष्ण घले,समाजसेवी देवी दंगाल,धनपति बराललगायतको उपस्थिति रहेको थियो ।


२०७३ सालदेखि स्तम्भ निर्माणको कुरा चलेको थियो । प्रतिष्ठानको बिधिवत दर्ता गरी २०७८ मंसिर २५ गतेदेखि आर्थिक संकलन गरि स्तम्भको निर्माण कार्यलाई अघि बढाईएको थियो । स्तम्भ निर्माणका लागि स्थानीय सुनिल मुखियाले आफ्नी स्वर्गीय आमा सुनिता मुखियाको स्मृतिमा पाँच धुर जमिन सैनिक क्याम्पलाई निःशुल्क उपलब्ध गराएका थिए । पछि उनैबाट थप एक धुर जग्गा खरिद गरी ६ धुर क्षेत्रफलमा स्तम्भ निर्माण गरिएको प्रतिष्ठानका सदस्य एवं स्तम्भ निर्माणका अवधारणाकार रिमानध्वज लोक्तामले जानकारी दिए। यसै क्षेत्रमा चाँडै सैनिक प्रबेशद्वार समेत निर्माण गरिने उनले बताए ।
प्रमुख अतिथि लिङ्देनले यस ऐतिहासिक स्तम्भ निर्माण गर्न आफूले पाँच लाख रुपैयाँ बजेट बिनियोजन गरिदिएको र निर्माण कार्य सफल पारी उद्घाटन गरिएकोमा खुशी व्यक्त गरे। यो स्तम्भले सैनिक नामकरण रहनुको कारणसहित ऐतिहासिकता समेत झल्काउने धारणा राखे।

बिशिष्ट अतिथि प्रदेश सांसद चुडालले आफ्नो गाउँघरको परिचय दिने किसिमको ऐतिहासिक स्तम्भ निर्माण भएकोमा प्रतिष्ठानलाई धन्यबाद दिँदै यस्तो स्तम्भले ऐतिहासिक तथ्य प्रष्ट पार्ने बताए। त्यसैगरी बिर्तामोड नगरपालिकाका नगर प्रमुख प्रसाईले बजेटले भ्याएसम्म नगरपालिकाको तर्फबाट स्तम्भ निर्माणमा सहयोग गरिएको र थप सहयोग गर्ने आश्वासन दिइन् ।

आर्थिक समिति सहसचिव टेकबहादुर देवानले स्तम्भ निर्माणमा १९ लाख २० हजार ६३० रुपैयाँ खर्च भएको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष मनु मुखियाले स्वागत गरेको कार्यक्रममा सहयोगी दाताहरुलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । सोही अवसरमा समितिले प्रकाशन गरेको भूपू सैनिक स्मृति प्रतिष्ठान स्मारिका बिमोचनसमेत गरिएको थियो । कार्यक्रमको संचालन सचिव चामबहादुर लिम्बुले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्