झापा, बैशाख २ । नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलमाथि जातीय भेदभाव तथा अपमान गरेको भन्दै हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बरबहादुर गिरीलाई कडाभन्दा कडा कारवाही गर्न एमालेले माग गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटी झापाका सचिव तुलसी कार्कीले एक प्रेस विज्ञप्ति जारी गरी कानुनी रुपमा बर्जित गरिएका उदण्ड र विध्वंस मच्चाउन खोज्ने उच्छृंखल गतिविधि साथै जातीय भेदभाव तथा छुवाछूतजन्य घटनाको खेद व्यक्त गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न सम्बन्धित पक्षसंग जोडदार माग गरेका हुन् । विज्ञप्तिमा गिरीले दिएको विभेदजन्य अभिव्यक्तिले नेपाली समाजको सद्भावलाई खलबल्याउन दुरुत्साहन गरेको ठहर गरी नेपालको संविधान, जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अनुसार कार्वाही गर्न माग गरिएको छ ।

पूर्व उपाध्यक्ष गिरीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिइसकेको छ । उनीविरुद्ध जातीय भेदभाव तथा अपमानसम्बन्धी व्यवहार कसुरमा जाहेरी दर्ता भएको थियो । जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख पोर्तेलले गिरीविरुद्ध इप्रका बिर्तामोडमा गत चैत २८ गते जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले गिरीलाई शनिवार साँझ बिर्तामोडबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । पूर्व उपाध्यक्ष गिरीले जिसस झापाका पूर्व प्रमुख पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ आकर्षण हुने गरी अभिव्यक्ति दिएको आरोप लागेको हो ।

चैत १८ गते हल्दिबारीमा पार्टीको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौज गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएको बताइएको छ । दलित अधिकारको क्षेत्रमा नेतृत्व गर्ने पोर्तेललाई फोनमार्फत जातको आधारमा अपमान र विभेद गर्ने गिरीलाई कानुनी कारबाही गर्न झापाका दलित संघ संगठनहरुले पनि संयुक्त रुपमा अपिल गरेका थिए ।

नेपाल दलित संघका सभापति दलबहादुर विश्वकर्मा, मुक्ति समाज झापाका अध्यक्ष तिलक गजमेर, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष सूर्यबहादुर विश्वकर्मा (सुरेश), कोशी प्रदेश सदस्य कुमार ठटाल, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन झापाका अध्यक्ष रमेश विश्वकर्मा, दलित जागरण अभियान केन्द्रका अध्यक्ष छविलाल विश्वकर्मा र ओरिफ नेपालको उपाध्यक्ष निरु परियारले संयुक्त विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका छन् । पोर्तेल नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिव पनि हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्