भद्रपुर,बैशाख ६ । २०६२–०६३ को दोस्रो जनआन्दोलनको क्रममा शाही सेनाको गोली लागेर सहादत प्राप्त गरेका शहीद सुरज विश्वासको १८ औं स्मृति दिवस बिहीवार मनाइएको छ ।

शहीद सुरज विश्वास स्मृति शालिक निर्माण समितिले भद्रपुर–६ स्थित शहीद स्मृति पार्कमा श्रद्धाञ्जली सभा आयोजना गरी स्मृति दिवस मनाएको हो । शहीद सुरजको अर्धकदको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।
शालिक निर्माण समितिका अध्यक्ष गोपाल मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वक्ताहरूले विभिन्न जनक्रान्तिमा देशका लागि बलिदान दिएका शहीद, बेपत्ता र घाइतेहरूको योगदानलाई राज्यले भुल्न नहुनेमा जोड दिए । दोस्रो जनआन्दोलनकै कारण राजतन्त्र ढालेर देशमा गणतन्त्र र लोकतन्त्र स्थापना भएको उनीहरूले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका कोशी प्रदेश सदस्य तथा पूर्व प्रदेश सांसद बसन्त बानिया, भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, एमालेका जिल्ला सदस्य कालिचरण बस्नेतलगायतले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा शहीद माता मिना विश्वासलाई सम्मान गरिएको थियो । सन्ध्या हाडाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन वडा सदस्य प्रकाश शर्माले गरेका थिए ।

त्यस्तै चन्द्रगढी विमानस्थलमा सङ्गठित यातायात व्यवसायीको चन्दगढ यातायात प्रा.लि.ले शहीद सुरज विश्वासको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैशाख ६ गतेकै दिन पूर्व राजा ज्ञानेन्द्र शाहको शासनविरुद्ध दोस्रो जनआन्दोलन भएको थियो । झापाको सदरमुकाम भद्रपुर घेराउ गर्दै हजारौँ प्रदर्शनकारी प्रदर्शनमा उत्रिएका थिए । सोही क्रममा तत्कालीन राजा ज्ञानेन्द्रको आदेशमा शाही सेनाले प्रदर्शनकारीमाथि गोली बर्षाएका थिए । सेनाको गोली लागेर झापाका सुरज विश्वास र राजन गिरीको निधन भएको थियो । सेना र प्रहरीको दमनमा परी दर्जनौं घाइतेसमेत भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्