झापा, बैशाख ८ । हङकङसँग हारसँगैं नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा निराशाजनक यात्रालाई टुंग्याएको छ । ओमानमा भइरहेको प्रतियोगितामा हङकङसँगको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो ।

समूह चरणको लगातार चार खेल जितेर सेमिफाइनल पुगेको नेपाल लगातार दुई खेलमा पराजित भएको हो । अघिल्लो दिन सेमिफाइनलमा नेपाललाई यूएईले ६ विकेटले पराजित गरेको थियो । सेमिफाइनलमा हारसँगैं नेपालको एसिया कपमा छनोट हुने संभावना समाप्त भएको थियो । हङकङलाई जितेको भए तेस्रो स्थान हात पार्दै नोभेम्बरमा हुने भनिएको एसीसी एमर्जिङ कपका लागि छनोट हुने थियो । नेपालको त्यो सम्भावना पनि समाप्त भएको छ ।

मस्कटस्थित अल अमेरेटमा टस जितेर ब्याटिङ गर्न आएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सक्यो । अंशुमन रथले अविजित ६५ रन बनाएपछि हङकङले ३ बल अगाडि लक्ष्य पुरा गरेको थियो । उनले ५० बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । नरसुल्ला राना ११ रनमा अविजित रहे । अन्तिम ओभरमा हङकङलाई विजयका लागि ८ रन चाहिने अवस्थामा रानाले सबै रन जोडेका थिए ।
बाबर हायतले २५ बलमा २ छक्कासहित २६ र एजाज खान १० बलमा १२ रन बनाई आउट भए । कप्तान निजाकत खान ३ रनमै आउट भएका थिए । नेपालबाट सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ३ र दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

दीपेन्द्रले अन्तिम ओभरमा समान २ चौका र छक्कासहित २० रन बनाएपछि सम्भव भएको थियो । नेपाल १४ औं ओभरमा ८७–७ को स्थितिमा ब्याटिङ गरेका दीपेन्द्रले २९ बल खेली कुल ४ चौका र ३ छक्का प्रहार गरे । आठौं नम्बरमा उनी ब्याटिङमा आउनुअघि नेपाललाई १ सय रन कटाउन पनि धौ धौ परेको थियो ।
ओमानमा भइरहेको प्रतियोगिताको अघिल्लो दिन सेमिफाइनलमा १ सय १९ रनमात्र बनाउन सकेको नेपाल फाइनल पुग्न नसकी एसिया कपमा छनोट हुन बन्चित भएको थियो । नेपालले शनिबार हङकङविरुद्धको खेलमा पनि त्यही किसिमको प्रदर्शनलाई निरन्तरता दिएको थियो ।

नेपालको निराशाजनक प्रदर्शन कुशल भुर्तेलको ब्याटबाट सुरु भएको थियो । इनिङ्सको दोस्रो बलमा कुशल खाता खोल्नु अगाडि विकेट किपरलाई क्याच दिन पुगेका थिए । उनी लगातार तेस्रो खेलमा शुन्यमा आउट भएका हुन् । यूएईविरुद्धको सेमिफाइनलमा पहिलो बलमा आउट भएका भुर्तेल साउदी अरेबियाविरुद्ध पनि शुन्यमा आउट भएका थिए ।
अर्का ओपनर आसिफ शेखले पनि ५ रनमात्र बनाउन सके । तेस्रो नम्बरमा पठाइएका सोमपालले २ चौका प्रहार गर्दै ७ बलमा १२ रन बनाए । कप्तान रोहित पौडेल १९ बलमा २१ र सन्दीप जोरा २३ बलमा २१ रनमा आउट भए । जोरा र गुशलन झा (६) लगातार बलमा रन आउट भए ।
एक छक्का प्रहार गरेका कुशल मल्लले पनि १४ बलमा १३ रनमात्र बनाउन सके । ललित राजवंशी ३ बलमा २ रन बनाई अविजित रहे । नेपालले १७ ओभरको समाप्तीमा केवल ५ चौका र १ छक्कामात्र प्रहार गर्न सकेको थियो, जतिखेर नेपालको स्कोर १ सय रन थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्