डिपार्टमेन्टल स्टोर एउटा यस्तो खुद्रा व्यापार गर्ने व्यापारिक संस्था हो,जसमा एउटै भवनमा विभिन्न किसिमका वस्तुहरु बिक्री गर्न अलग–अलग धेरै विभागहरु राखिएका हुन्छन् । यी प्रत्येक विभागले कुनै एक विशेष प्रकारको वस्तुको मात्र व्यापार गर्दछ ।एउटै विभागमा अनेक किसिमका वस्तु हुँदैनन् । डिपार्टमेन्टल स्टोरको विभिन्न विभागको संचालन र नियन्त्रण चाहिँ एउटै व्यक्ति वा संस्थाको अधिनमा रहेको हुन्छ । यो विभागीय भण्डारमा ग्राहकले आफूलाई आवश्यक परेको सम्पूर्ण मालसामान एकै ठाउँबाट प्राप्त गर्न सक्छन् । डिपार्टमेन्टल स्टोरको प्रमुख उद्धेश्य पनि आफ्ना ग्राहकलाई आवश्यक पर्ने सबै प्रकारको वस्तु एउटै स्थानमा उपलब्ध गराउनु हो ।

वास्तवमा डिपार्टमेन्टल स्टोरमा सियोदेखि हवाईजहाजसम्म पनि बिक्री वितरणको लागि राखेको हुन्छ। अर्थात घरेलु आवश्यकताको सानोभन्दा सानो वस्तुदेखि लिएर ठूला –ठूला वस्तुहरु पनि यहाँ खुद्रा बिक्री गरिन्छ । यसले गर्दा ग्राहकलाई आफ्नो आवश्यकताअनुसार विभिन्न वस्तुहरु खरिद गर्न विभिन्न स्थानमा चाहार्नु नपर्नेगरी एउटै स्थानबाट सबै प्रकारका वस्तुहरु उपलब्ध गराइन्छ ।यस प्रकारको अलगअलग वस्तुहरु बिक्री गर्ने विभिन्न विभागहरु एउटै भवनभित्र केन्द्रीय नियन्त्रणमा संचालन हुने ठूलो परिमाणको खुद्रा व्यापार गर्ने संस्थालाई डिपार्टमेन्टल स्टोर भनिन्छ । यस प्रकारको डिपार्टमेन्टल स्टोर ठूला–ठूला शहरको मुख्य स्थानमा स्थापना गरिएको हुन्छ । आधुनिक डिपार्टमेन्टल स्टोरमा वस्तुको खुद्रा बिक्री गर्नुका साथै आफ्ना ग्राहकहरुको सुविधा तथा आकर्षणका लागि रेष्टुरेन्ट ,विश्राम गृह ,मनोरञ्जन स्थल,पुस्तकालय आदिको पनि व्यवस्था गरिएको हुन्छ ।

डिपार्टमेन्टल स्टोरको सबैभन्दा पहिले सुरुवात कहाँ र कहिले भयो भन्ने कुरा निश्चित हुन नसके तापनि सबैभन्दा पहिले डिपार्टमेन्टल स्टोर फ्रान्समा स्थापना भएको हो भन्ने कुरामा विश्वास गरिन्छ । बोन मार्क तथा लुभर नामको डिपार्टमेन्टल स्टोर पेरिसमा सन् १८५२ मा स्थापना भएको थियोे ।त्यसपछि इंग्ल्याण्ड अनि अमेरिकामा हुँदै विस्तारै विस्तारै यस स्टोरको लोकप्रियता बढ्दै गयो । र, युरोपका ठूलठूला शहरमा तथा जापानजस्ता विकसित देशमा यसको धेरै संख्यामा विकास हुन थाल्यो ।आज आएर एशियाको धेरै देशहरुमा यस्ता डिपार्टमेन्टल स्टोरहरु छन् ।

              डिपार्टमेन्टल स्टोरका  विशेषताहरु

(१)केन्द्रीय स्थिति ( Central location)ः डिपार्टमन्टल स्टोर एउटा खुद्रा व्यापार गर्ने एउटा ठूलो संस्था हो । त्यसैले अत्यधिक ग्राहकलाई आकर्षित गरेर अधिकतम बिक्री गर्ने उद्धेश्यले ठूलाठूला शहरको मुख्य व्यापारिक केन्द्रमा डिपार्टमन्टल स्टोर स्थापना भएको हुन्छ ।
(२) विभिन्न विभागहरु ( Various departmental)ः विभिन्न प्रकारका वस्तुहरु बिक्री वितरण गर्नको लागि डिपार्टमेन्टल स्टोरमा धेरै विभागहरु रहेका हुन्छन् ।एउटा विभागले एउटै किसिमको वस्तु मात्र बिक्री गर्दछ ।यसरी बाहिरबाट हेर्दा स्टोर एउटै पसलजस्तो देखिए तापनि भित्र विभिन्न पसलहरु रहेका हुन्छन् ।यसरी यो धेरै पसलहरु भएको एउटा पसल हो ।

(३) विभिन्न प्रकारका वस्तुहरु ( Wide Verieties of Goods)ः डिपार्टमेन्टल स्टोरको एक प्रमुख उद्धेश्य ग्राहकहरुलाई तिनीहरुको आवश्यकताका सबै वस्तुहरु एउटै स्थानमा उपलब्ध गराउनु हो । तसर्थ ग्राहकको धेरैजसो आवश्यकता पूर्ति गर्नको लागि डिपार्टमेन्टल स्टोरमा विभिन्न प्रकारका वस्तुहरु संकलन गरेर राखिएका हुन्छन् र यसले आफ्नो विभिन्न विभागहरुमार्फत अनेकौं किसिमका वस्तुहरु उपलब्ध गराउँदछ।

(४) संचालन गर्नमा स्वतन्त्रता ( autonomy Of Operation )ः डिपार्टमेन्टल स्टोरका विभिन्न विभागहरु आफैमा स्वतन्त्र एवम् पूर्ण ईकाइ हुन्छन् र तिनको संचालन स्वतन्त्र रुपमा गरिन्छ ।आफ्नो विभागमा वस्तु बिक्री गर्नु ,खरिद गर्नु, पसलको सजावट गर्नु आदि कार्यमा सबै विभाग स्वतन्त्र हुन्छन्। त्यस्तै हरेक विभागले आफ्नो कारोवारको हिसाब – किताब पनि अलग अलग नै राखेको हुन्छ ।
(५) केन्द्रीय स्वामित्व एवं नियन्त्रण ( Centralised Ownership Control )ः डिपार्टमेन्टल स्टोरअन्तर्गतका प्रत्येक विभागलाई स्वतन्त्र रुपले कार्य गर्न पाउने अधिकार भएता पनि केन्द्रीय निर्देशन तथा नियन्त्रणमा रहेर यी विभागहरुले कार्य गर्नुपर्दछ ।अर्थात यसको स्वामित्व तथा प्रबन्ध कुनै एक व्यक्ति वा समूहमा नै निहित रहेको हुन्छ ।

(६) ठूलो संगठन ( Big Organisation ) ः अनेकौं प्रकारका वस्तुहरु बिक्री गर्ने विभिन्न विभागहरु भएको डिपार्टमेन्टल स्टोर एउटा ठूलो खुद्रा व्यापारिक संस्था हो । यसको आन्तरिक संगठन पनि त्यतिकै विस्तृत र व्यापक हुन्छ। तसर्थ यसको स्थापना र संचालन गर्नको लागि पनि धेरै पूँजीको आवश्यकता पर्दछ ।यसकारण डिपार्टमेन्टल स्टोर साधारणतया संयुक्त पूँजी कम्पनीको रुपमा नै संचालन भएको हुन्छ।

(७) विशेष सुविधा (Specific facility) ः डिपार्टमेन्टल स्टोरले आफ्ना ग्राहकलाई आवश्यक पर्ने जति सबै वस्तुहरु उपलब्ध गराउन र साथै तिनलाई अत्यधिक सुविधा दिने कोसिस गर्दछ । यस भण्डारको प्रबन्धकले ग्राहकको रुचि र आवश्यकतामा धेरै ध्यान दिनु पर्दछ । ग्राहकलाई राम्रो स्वागत सत्कार गरी तिनलाई सन्तुष्ट राख्ने कोसिस पनि गर्नु पर्दछ । यस उद्धेश्यले स्थापना गरिएको डिपार्टमेन्टल स्टोरमा मनोरन्जन तथा बच्चाहरुको खेल्ने स्थान , पत्र–पत्रिका पढ्ने ठाउँको ,सुविधा ,जलपान गृह, एटीएम आदिको सुविधा पनि ग्राहकहरुको लागि उपलब्ध गराएको हुन्छ । ग्राहकलाई अधिकतम सन्तुष्टि दिनु नै डिपार्टमेन्टल स्टोरको जीवनको आधार हो भन्ने कुरा महसुस गरेको हुन्छ ।

(८) आन्तरिक विज्ञापन ( Internal advertisement )ः डिपार्टमेन्टल स्टोरभित्र रहेका विभागहरुमा एकले अर्कोलाई आफ्नो विज्ञापन गरिरहेको हुन्छ । एउटा विभागमा खरिद गर्न आएका ग्राहकले अर्को विभागको बारेमा पनि जानकारी पाउँदछ । र त्यहाँ पनि वस्तु खरिद गर्दछ ।यसरी आन्तरिक विज्ञापन डिपार्टमेन्टल स्टोरको एउटा विशेषता हो।
डिपार्टमेन्टल स्टोरको रुपमा चलाएको खुद्रा व्यापारबाट धेरै किसिमका लाभ उठाउन सकिन्छ ।यसबाट हुने केही लाभहरुको तल वर्णन गरिएको छ।

(१) खरिद गर्न सुविधा (Facility for purchase )ः डिपार्टमेन्टल स्टोरमा विभिन्न प्रकारका वस्तुहरु बिक्रीको लागि राखिने हुनाले ग्राहकलाई आवश्यक पर्ने सामानहरु सबै एकै ठाउँमा उपलब्ध हुन्छ ।ग्राहकलाई आफ्नो आवश्यकता अनुसारको वस्तु खरिद गर्न ठाउँ –ठाउँमा खोजेर हिडिरहनु पर्दैन। यी फाइदाले गर्दा नै आज संसारमा डिपार्टमेन्टल स्टोरहरु अति लोकप्रिय भएका हुन् ।
(२) ठूलो परिमाणमा वस्तु खरिद गर्नाले लाभ ( advantages of bulk buying )ः डिपार्टमेन्टल स्टोरले सिधा उत्पादकबाट नै ठूलो परिमाणमा वस्तु खरिद गर्दछ । यसरी ठूलो परिमाणमा वस्तु खरिद गर्नाले वस्तु सस्तो मूल्यमा पाउनुको साथै उत्तम गुणस्तरको पनि पाईन्छ ।
(३) ग्राहकलाई महत्वपूर्ण सेवा ( services to customer) ः डिपार्टमेन्टल स्टोरले आफ्ना ग्राहकहरुलाई सबै प्रकारका वस्तुहरु उपलब्ध गराउनुको साथै अनेक महत्वपूर्ण सेवाहरु पनि प्रदान गर्दछ । नगदमा बिक्री , वस्तु घरसम्म पुर्याइदिने सुविधा , वस्तुहरुको मर्मत गरिदिने , बिक्री भईसकेको वस्तु पनि फिर्ता लिइदिने आदि यस्ता महत्वपूर्ण सेवा सुविधाहरु डिपार्टमेन्टल स्टोरले प्रदान गर्दछ ।यसले आफ्ना ग्राहकलाई जुन सेवा प्रदान गर्दछ , त्यो अरु कुनै पनि फुटकर व्यापारीले प्रदान गर्दैन र गर्न पनि सक्दैन।
(४)कुशल प्रबन्ध (Efficient Managament)ः डिपार्टमेन्टल स्टोर ठूलो आकारको व्यापारिक संगठन भएको हुनाले यसको आर्थिक स्थिति पनि राम्रो हुन्छ । तसर्थ यसले प्रभावकारी ढंगबाट डिपार्टमेन्टल स्टोरको प्रबन्ध तथा संचालन गर्नको लागि अनुभवी ,कुशल , योग्य कर्मचारीहरूले नियुक्ति गर्न सक्दछ र तिनीहरुबाट दिइने सेवाले गर्दा यसको कार्यक्षमता अझ बृद्धि हुन जान्छ।

(५) विज्ञापन ( Advertisement)ः ठूलो परिमाणमा व्यापार हुने भएकोले डिपार्टमेन्टल स्टोर प्रभावकारी रुपमा उत्तम बिज्ञापन गर्न सक्षम हुन्छ । साथै विज्ञापनको खर्च प्रतिइकाई बिक्रीको लागतको हिसाबमा नगण्य नै हुन्छ । डिपार्टमेन्टल स्टोरमा एउटा विभागले अर्को विभागको विज्ञापन गरेको हुन्छ । जब कुनै ग्राहक डिपार्टमेन्टल स्टोरमा खरिद गर्न आउँदा त्यतिखेर उसलाई अन्य विभाग भएर पनि जानु पर्दछ ।यसरी जाँदा अरु वस्तु देखेर त्यसप्रति पनि ऊ आकर्षित हुन्छ । यस प्रकार संभवतः अन्य विभागका वस्तुको पनि विज्ञापन हुन जान्छ ।
(६) बिक्री वृद्धि (Increase in Sales) ः डिपार्टमेन्टल स्टोर शहरको प्रमुख केन्द्रमा स्थापित हुने भएकोले धेरै संख्यामा ग्राहकहरु वस्तु खरिद गर्न आउँछन्। साथै आवश्यक पर्ने सम्पूर्ण सामान एकै स्थानमा उपलब्ध हुने र अन्य सुविधाहरु पनि पाईने हुनाले ग्राहकहरु डिपार्टमेन्टल स्टोरबाट नै वस्तुहरु खरिद गर्न चाहन्छन् । यसले गर्दा बिक्रीको परिमाणमा धेरै बृद्धि हुन्छ ।

 डिपाटमेन्टल स्टोरका केही बेफाईदाहरु छन्

(१) व्यक्तिगत सम्पर्कको अभाव( lack of personal contact ) ः डिपार्टमेन्टल स्टोर ठूलो संगठन भएकोले यहाँ मालिक र ग्राहकबिच व्यक्तिगत सम्पर्क स्थापना हुन सक्दैन । डिपार्टमेन्टल स्टोरका कर्मचारीहरुद्वारा वस्तु बिक्रीको कार्य हुन्छ । उनीहरुले ग्राहकलाई सन्तुष्टि प्रदान गर्न त्यति चाख लिएका हँुदैनन् , जति आफ्नो व्यापारको लागि मालिकले गर्दछ । यसबाट बिक्रीमा प्रतिकुल प्रभाव पर्न सक्दछ ।

(२) वस्तुको अधिक मूल्य ( Expensive price of Good)ः डिपार्टमेन्टल स्टोर संचालन गर्नमा धेरै खर्च हुन्छ । फलस्वरूप वस्तुको मूल्य बढ्न जान्छ । अन्य खुद्रा व्यापारी कहाँ बिक्री गरिने मूल्यभन्दा डिपार्टमेन्टल स्टोरमा बिक्री गरिने वस्तुको मूल्य धेरै नै बढी पर्न जान्छ ।तसर्थ सर्वसाधारण ग्राहकले डिपार्टमेन्टल स्टोरबाट सामानहरु खरिद गर्न रुचाउँदैनन् । यहाँ मध्यम र धनी वर्गले मात्र खरिद गर्न सक्दछन् ।
(३) अनुपयुक्त स्थान (Unfavoarable Location)ः डिपार्टमेन्टल स्टोरहरु शहरको प्रमुख स्थानमा मात्र स्थापना भएका हन्छन्। यसले गर्दा शहरदेखि टाढा बसोबास गर्ने अरु असंख्य ग्राहकहरुलाई यो स्थान पायक नपर्ने हुनाले स्थानीय खुद्रा व्यापारीबाट नै उनीहरुले वस्तु खरिद गर्दछन्।

(४) स्थापना गर्न गाह्रो ( Difficulties in Establishment ) ः डिपार्टमेन्टल स्टोरको स्थापना तथा संचालन गर्न धेरै नै गाह्रो छ। यसको लागि योग्य ,कुशल कर्मचारीहरुको पनि त्यत्तिकै आवश्यक पर्दछ ।
(५) अनावश्यक खर्च ( Unnecessary Expensives)ः डिपार्टमेन्टल स्टोरले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधा दिन धेरै रकम खर्च गर्दछ । यसले गर्दा वस्तुको मूल्यमा बृद्धि हुन जान्छ ।

अन्त्यमा,आजको समय भनेको घरमा बसीबसी खरिद बिक्री गर्ने, अनलाइन व्यापार गर्ने भएता पनि मानिसहरु प्रत्यक्ष भौतिक रुपमा सामान खरिद गर्न रुचाउँछन् । नेपालमा एमोजोन अनलाइन सपिङ आएकै छैन । त्यस्तै नेपालमा हाफर मार्केट आउन बाँकी नै छ । बिस्तारै ढिलो चाँडो आउने छ होला । डिपार्टमेन्टल स्टोर भनेको एउटा ठूलो परिमाणमा संचालन हुने खुद्रा व्यापारको संगठन हो। ठूलो परिमाणमा व्यवसाय चलाउनको लागि पूँजी पनि धेरै मात्रामा जरुरत पर्दछ । त्यसैले साधारणतया संयुक्त पूँजीमा कम्पनीको स्वरुपमा यो संचालन हुने गर्दछ । त्यसैले यसको व्यवस्थापन संचालन समितिको नियन्त्रण तथा निर्देशनमा हुन्छ । डिपार्टमेन्टल स्टोरको नियन्त्रण तथा सुपरीवेक्षणको लागि अधिकारहरुको प्रत्यायोजन, प्रबन्ध, संचालक तथा महाप्रबन्धकलाई दिएको हुन्छ । यसको कार्य विस्तारपूर्वक हुने हुँदा बिक्री विभागको अतिरिक्त यसमा खरिद, लेखा विभाग, कर्मचारी प्रबन्धक विभाग, प्राविधिक विभाग आदि विभिन्न विभागहरु हुन्छन् । र, प्रत्येक विभागमा एक जना प्रबन्धक र आवश्यकता अनुसार सहायक कर्मचारीहरु हुन्छन् । हाल नेपालमा अनलाईन खरिद बिक्रीको पनि ट्रेन्ड चल्दैछ । डिपार्टमेन्टल स्टोरलाई प्रभावकारी तरिकाले संचालन गर्न धेरै कुराहरुमा ध्यान दिनुपर्दछ । जस्तैः यसको स्थान र स्थिति, डिपार्टमेन्टल स्टोर ठूलो परिमाणको व्यवसाय हुनाले यसका ग्राहकको संख्या पनि धेरै हुनुपर्दछ । धेरै ग्राहक जहीतही पाईदैन । त्यसैले शहरको मुख्य भागमा जहाँ बढी संख्यामा ग्राहक हुन्छन्, त्यहाँ डिपार्टमेन्टल स्टोर खोल्नुपर्दछ । डिपार्टमेन्टल स्टोरलाई परिचालन गर्दा प्रभावकारी खरिद र बिक्री नीतिमा ध्यान दिनुपर्दछ । राम्रा कर्मचारीको छनौट, राम्रो गोदामको व्यवस्था आदिले पनि डिपार्टमेन्टल स्टोरको संचालनमा ठूलो प्रभाव पार्दछ । त्यसैले डिपार्टमेन्टल स्टोर संचालन गर्दा सम्पूर्ण कार्यलाई सुनियोजित ढंगबाट व्यवस्थापन गरिनु पर्छ ।

  

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्