झापा, बैशाख १६ ।मनराम ग्रुपअन्तर्गत लायन्स मनराम प्रतिष्ठान २००५ ले बिर्तामोड १० स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका करिव ४ सय विद्यार्थीहरुलाई प्रतिष्ठानले शैक्षिक सामग्री वितरण गरेको हो । २ हजार ४०६ थान कपी , १ हजार २१० थान बलपेन,४२० थान पेन्सिल, १६८ थान इरेजर र १६८ थान सार्पनर वितरण गरिएको प्रतिष्ठानका संस्थापक उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । उनले एक लाख भन्दा बढी मूल्यको शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिए । लायन्स मनराम प्रतिष्ठानले शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । प्रतिष्ठानले देशको ७७ वटै जिल्लाका १५४ वटा विद्यालयमा पुस्तकालय स्थापनामा सहयोग गरेको प्रतिष्ठानका महासचिव रामप्रसाद घिमिरेले बताए । खासगरी प्रतिष्ठानले इलाम , पाँचथर, ताप्लेजुङ र संखुवासभाको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको महासचिव घिमिरेले जानकारी दिए ।
मनराम ग्रुपले बिर्तामोड १० मा मनराम गौशाला तथा छुर्पी प्रशोधन केन्द्र संचालन गरेको छ । त्यहाँ उत्पादित छुर्पी अमेरिका निर्यात हुने गरेको छ । वार्षिक १० लाख केजी छुर्पी अमेरिका पठाउने गरिएको प्रतिष्ठानका संस्थापक उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । तीन वर्षअघि स्थापित छुर्पी प्रशोधन केन्द्र १७ विगाहमा फैलिएको छ । त्यहाँ ३ सय जनाले रोजगारी पाएका छन् ।
बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि संग्रौला ,प्रतिष्ठानका संस्थापक उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ , महासचिव रामप्रसाद घिमिरेलगायतले बोलेका थिए । बिर्तामोड १० का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रधानाध्यापक जयकुमार झाले गरेका थिए । कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक भवानी शिवाकोटीले गरेका थिए ।