इलाम, बैशाख १६ । इलाम क्षेत्र नम्बर– २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ।

इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहमा फाकफोकथुम गाउँपालिकाको १,२, ३, ४, ५ र ६ नम्बर वडाको मतगणना सकिँदा एमालेका सुहाङ नेम्बाङले ३,७८३ मत ल्याएका हुन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २,७८२ मत प्राप्त गरेका छन्। उनीहरूबीच मतान्तर १००१ रहेको छ। यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७८४ मत,राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५७० मत प्राप्त गरेका छन्।

फाकफोकथुम गाउँपालिका सकिएपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन्। २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो।

त्यस्तै प्रदेश सभाको बझाङ–१ (१) को मतगणनामा एमालेको अग्रता कायमै रहेको छ। एमालेका दमनबहादुर भण्डारीले ३ हजार १८५ मतसहित अग्रता बनाइरहेका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले २ हजार ५७० मतसहित पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेको माओवादीका उम्मेदवार जनकबहादुर बुढाको १ हजार ८३८ मत रहेको छ।

छबिसपाथिभेरा गाउँपालिकाको सबै वडाको मतगणना सकेर थलरा गाउँपालिका एउटा वडा र खप्तड छान्ना गाउँपालिकाको पाँच वटा वडाको मतगणना सकिएको छ। नेपाली कांग्रेसको राम्रो पकड रहेको खप्तडछान्नामा वडा नम्बर १ देखि ५ सम्म मतगणना गर्दा एमालेभन्दा कांग्रेस १ सय ७३ मतले मात्र अघि रहेको देखिएको छ।

एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९ मत ल्याएका छन्। यो समाचार तयार पार्दासम्म बझाङमा अझै जयपृथ्वी नगरपालिकासहित सुर्मा, साइपाल, मष्टा, तल्कोट गाउँपालिकामा मतगणना हुन बाँकी छ। बझाङ सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा आइतवार दिउँसो २ बजेबाट सुरु भएको मतगणना दुई ठाउँबाट तीव्र रुपमा भइरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्