झापा, बैशाख १७ । सीमावर्ती झापा गाउँपालिकामा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।

आज साँझ ६ बजेको समयमा झापा गाउँपालिका वडा नं.३ कामाटोली बजारस्थित अक्कलबहादुर विश्वकर्माको घरको तेस्रो तल्लामा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापा गाउँपालिका वडा नं.४ खैरबारी बस्ने २५ वर्षीय सरिफुल आलमलाई नियन्त्रणमा लिन खोज्दा उनले आफ्नो साथमा रहेको दाउ र खुकुरीबाट प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए ।

प्रतिरक्षास्वरुप प्रहरीले गोली चलाउँदा उनको बाँया खुट्टाको तिघ्रा र पिडुलामा २ राउण्ड गोली लागेको थियो । घाइते भएका मियालाई नियन्त्रणमा लिने क्रममा उनको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, एक थान दाउ र एक थान खुकुरी बरामद भएको छ ।

उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाई घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्