झापा,बैशाख १८ । विगतमा छुटेपनि यस पटक झापाका सम्पूर्ण जनप्रतिनिधिहरुले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका छन् ।

जनप्रतिनिधिहरुबाटै बैशाख १६ गतेदेखि हात्तीपाईले रोगबिरुद्धको आम औषधि खुवाउने अभियान शुरु गरिएको हो । प्रत्येक पालिकाहरुमा पालिका प्रमुख , उपप्रमुख, वडाध्यक्षहरुबाटै अभियान शुरु गरिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । बैशाख १६ गते १५ वटै पालिकाहरुमा एकैपटक अभियान शुभारम्भ गरिएको हो ।

दमक नगरपालिकामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मैनाली , नगर प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराई , फेयरमेड कन्ट्री रिप्रेजेन्टेटिभ चिरन्जीवी नेपाल , स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी , विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षाकर्मीलगायतको उपस्थितिमा हात्तीपाईले रोगबिरुद्धको आम औषधि खुवाउने अभियान शुरु गरिएको हो । त्यस्तै कमलमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई , कन्काईमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल,बिर्तामोडमा नगर प्रमुख पवित्रा महतारा प्रसाई , भद्रपुरमा नगर प्रमुख गणेश पोखरेल, अर्जुनधारामा नगर प्रमुख बलदेवसिंह गोम्देन , झापा गाउँपालिकामा कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया , शिवसताक्षीमा नगर प्रमुख मेगाहाङ थोप्राले आफै औषधि खाएर अभियानको शुरुवात गरेका थिए ।

बिर्तामोड नगरपालिकाका प्रायः सम्पूर्ण जनप्रतिनिधिहरुले औषधि खाएको स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले बताए । विगतमा जिम्मेवार व्यक्तिहरुले नै औषधि नखाँदा अभियान सफल बन्न नसकेको गुनासो आएपछि यस पटक जनप्रतिनिधि , सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुखहरुबाटै अभियान शुभारम्भ गरिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापासहित सात जिल्लामा बैशाख १६ देखि ३० गतेसम्म आम औषधि खुवाउने कार्यक्रम चलिरहेको छ । झापामा विगत १३ वर्षदेखि हात्तीपाइलेको औषधि खुवाउने अभियान जारी छ । डर त्रासका कारण अधिकांशले औषधि सेवन नगर्दा जिल्लामा अभियान सफल नभएको हो । यस पटक अन्तिम अभियान बनाउन जनप्रतिनिधिसहित सबै सरोकारवाला पक्ष लागिपरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । गर्भवती महिला, सिकिस्त बिरामी र दुई वर्ष मुनिका बालबालिकाबाहेक जिल्लामा साढे ९ लाख जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । जिल्लामा अघिल्लो वर्ष ७७.६५ ले मात्र औषधि खाएका थिए ।

यस पटक अभियानलाई सफल बनाउन भद्रपुर, कनकाईसहित अन्य केही पालिकाहरूले हात्तीपाइले कार्ड नै जारी गरेका छन् । औषधि खाएका व्यक्तिले कार्ड लिनुपर्ने हुन्छ । कार्ड लिएर पालिकामा गए मात्र सेवा सुविधा पाउने निर्णय नै गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्