झापा,बैशाख २७ । पदयात्रामा आधारित पर्यटन परियोजनाका निम्ति स्वीट्जरल्याण्ड सरकारले नेपाललाई ९.०१ मिलियन स्वीसफ्रयाङ्क आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा.ड्यानियल म्यूलीले सहयोग सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त परियोजना यही वर्ष (सन् २०२४) देखि कार्यान्वयन हुनेछ । सन् २०२८ सम्म सञ्चालन हुने सो परियोजनाबाट कोशी प्रदेशका २९ स्थानीय तहका करिब एक लाख स्थानीयले प्रत्यक्ष लाभ लिने विश्वास गरिएको अर्थ मन्त्रालयले जनाएको छ । परियोजनाको कार्यान्वयनबाट स्थानीय कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादन, रोजगारी सिर्जना तथा दिगो पर्यटनको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सो अवसरमा राजदूत म्यूलीले दिगो पर्यटन विकास र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने परियोजनाले कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । परियोजना कार्यान्वयनमा आएसँगै सामाजिक आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । अर्थ मन्त्रालयका सहसचिव एवम् वैदेशिक सहयोग आर्थिक समन्वय महाशाखाका प्रमुख नेपालले कोशी प्रदेशको पर्यटन क्षमता अभिवृद्धि गर्ने र यसबाट पर्या–पर्यटनको प्रवर्द्धन गर्दै स्थानीय जनताको आयस्रोतमा वृद्धि गर्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्