बिर्तामोड,बैशाख २७ । दुर्गा प्रसाईको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ को युवा संगठन नागरिक युवा दस्ताले झापाको बिर्तामोडमा दुई वटा बैंकमा तोडफोड गरेका छन् ।

बिर्तामोडको एभरेष्ट बैंक र ज्योति विकास बैंकमा तोडफोड भएको हो । तोडफोडमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड ३ बस्ने २७ वर्षीय मनकुमार तामाङ, बुद्धशान्ति ४ का ३४ वर्षीय अन्जेस राई (बुलेट किराँती), सोही ठाउँका १६ वर्षीय दिपेश राई र बिर्तामोड ४ बस्ने १८ वर्षीय पवन दुलाल रहेका छन् ।

गत वैशाख २५ गते एभरेष्ट बैंक र ज्योति विकास बैंकले ऋणीलाई सास्ती दिएको भन्दै बर्दिया राजापुरका खुसीराम चौधरी आत्महत्या गरेको आरोप लगाइएको छ । त्यसैको विरोधमा दुर्गा प्रसाईको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ को युवा संगठन नागरिक युवा दस्ताले बैंकमा तोडफोड गरेका थिए । बिहान ११.४० बजेको समयमा बिर्तामोड ५ स्थित सिटीसेन्टर अगाडिबाट राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको नागरिक युवा दस्ताद्वारा बैंक तथा वित्तीय संस्थाले गरेको ज्यादती विरुद्धमा पैदल र्याली आयोजना गरिएको थियो । नागरिक युवा दस्ता झापाका कार्यकारी प्रमुख भिम तुम्बाम्फेको नेतृत्वमा अन्दाजी ४०–५० जनाको संख्यामा भेला भई सिटिसेन्टरबाट मुक्तिचोकतर्फ जाँदै गरेको अबस्थामा र्यालीका सहभागीहरुले ज्योति विकास बैंक र एभरेष्ट बैंकमा ढुंगा हानेका थिए । तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

कालो मास्क र नेपालको झन्डासहित नारा लगाउँदै उनीहरूले बैंकमा ढुंगामुढा गरेका थिए । प्रदर्शनकारीले ज्योति विकास बैंकमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले एभरेष्ट बैंक रहेको घरमा ढुङ्गा प्रहार गर्दा सो घरको १५– १६ वटा सिसा फुटेको छ । ज्योति विकास बैंकमा भने सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्