दूधे, वैशाख ३० । शिवसताक्षी नगरपालिकाको आयोजनामा तीन दिने एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम सुरु भएको छ ।

शिवसताक्षी नगरपालिकाको सभाहलमा शनिबारदेखि सुरु भएको सो तालिम नगरका प्रमुख लेखा अधिकृत प्रकाश योङहाङले उद्घाटन गरेका थिए । नगरपालिकाका शिक्षा शाखा प्रमुख छवि ढकालले नगरका ३५ शिक्षक शिक्षिका तालिममा सहभागी रहेको बताए । उनका अनुसार यो तालिम तीन दिनसम्म सञ्चालन हुनेछ।

कार्यक्रमका प्रमुख अतिथि लेखा अधिकृत योङहाङले शिवसताक्षी नगरका शिक्षक शिक्षिकाहरूको क्षमता विकासका लागि नगरपालिकाले धेरै कार्यक्रम ल्याएको बताए । उनले कार्यक्रममा प्रत्यक्ष सहभागी भएर आफ्नो क्षमता विस्तार गरी विद्याथीहरुको सुनौलो भविष्य निर्माणका लागि लागिपर्न शिक्षक शिक्षिकालाई अनुरोधसमेत गरेका छन्।

नगर शिक्षा अधिकारी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघ शिवसताक्षी नगरका अध्यक्ष बेनु कार्कीले नगरका यस्ता कार्यक्रमले शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष फाइदा पुग्ने बताए । ‘तालिमबाट प्राप्त ज्ञान र सीपलाई शिक्षक शिक्षिकाले कक्षा कोठामा गएर व्यावहारिक रुपमा उतार्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं,’ कार्कीले भने ।

यो तालिममा एकीकृत पाठ्यक्रम (कक्षा १,२ र ३) मा अध्यापन गराउने शिक्षक शिक्षिकाको सहभागिता छ। सहभागी शिक्षक शिक्षिकालाई देवी माध्यमिक विद्यालयका शिक्षकहरु लीलाप्रसाद भण्डारी र युवराज ढकालले सहजीकरण गरेका छन् ।
तालिमका सहजकर्ता भण्डारीले पाठ्यक्रम जसरी वर्षेनि परिमार्जित हुन्छ , त्यसरी नै शिक्षक पनि वर्षेनि अपडेट हुनुपर्ने बताए । ‘यदि शिक्षक अपडेट भएन भने पाठ्यपुस्तकको विषय एकातिर, शिक्षक अर्कातिर र विद्यार्थी अन्धकारतिर हुन्छन् । त्यसैले शिक्षक पनि अपडेट हुन आवश्यक छ ’उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्