झापा, जेठ ३ । इलामबाट चोरी तस्करी गरी माईखोलामा बगाएर ल्याउँदै गरेको काठ शिवसताक्षीको दोमुखामा बरामद भएको छ ।

आज बिहान अन्दाजी २.३० बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित माईखोलामा इलामबाट काठ चोरी तस्करी गरी ल्याइरहेको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय झिलझिले , चुलाचुली सब डिभिजन वन कार्यालय ईलाम र माई सुखानी सब डिभिजन वन कार्यालय ईलामबाट खटिएका वनरक्षक तथा गैंडे सामुदायिक वन उपभोक्ता समिति माईधारको संयुक्त टोलीले अन्दाजी ६० हजार मूल्य बराबरको सखुवा जातको २०.२२ क्युबिक फिट फेन्टा बरामद गरेको थियो ।

तस्करहरुले काठ चोरी गरी गरी ल्याउँदै गरेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिएको थियो । तस्करहरुले प्रहरीमाथि ढुंगा र गुलेलीले आक्रमण गरेको र पछि थप सुरक्षाकर्मी लगेर काठ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । बरामद गरिएको काठ गैंडे सामुदायिक बन माईधारमा बुझाईएको छ ।

यसअघि गत बैशाख १५ गते माईखोलामा त्यसरी नै बगाएर ल्याउँदै गरेको चोरीको काठ प्रहरीले बरामद गरेको थियो । ट्युबमाथि काठ राखेर माईखोलाको पानीमा बगाउँदै इलामबाट काठ चोरी गरी झापातर्फ ल्याउने क्रम बढेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्