झापा, जेठ ७ । कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा राजेन्द्रप्रसाद अधिकारी नियुक्त भएका छन् ।

प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । झापा गरामनी निवासी अधिकारी मेची बहुमुखी क्याम्पसका अर्थशास्त्र विषयको उप–प्राध्यापक हुन् । उनले नेपाली अर्थतन्त्रमा मुद्रा आपूर्ति र मूल्यस्तरबीचको सम्बन्ध विषयमा विद्यावारिधि पूरा गरेका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लव अधिकारीले मन्त्रिपरिषद् बैठकबारे जानकारी दिँदै मुख्य न्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय भएको बताए ।

सोलु दूधकुण्ड, फुङलिङ र खाँदबारी नगरपालिकामा आप्रवासन केन्द्र स्थापना गर्न पाँच लाख दुई हजारका दरले रकमान्तर गरी बजेट पठाउने निर्णय भएको अधिकारीले बताए । पुष मसान्तसम्म सम्बन्धित मन्त्रालयले काम गर्न नसकेकोले मन्त्रिपरिषद्ले निर्णय गरेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्