लक्ष्मी उप्रेती,
झापा । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब विदेशका ठुला र चिल्ला सडक अनि टाढा टाढा गएर ‘सेल्फी’ खिचेर पोस्ट गर्ने दिनको अन्त्य भएको बताएका छन् ।

आज झापाको कमल गाउँपालिका—५ स्थित पाडाजुङ्गीमा एशियन हाइवेमा पर्ने पूर्व पश्चिम राजमार्गको काँकरभिट्टा—लौकही सडकखण्डको स्तरोन्नति कार्यक्रमको शिलान्यास समारोहमा बोल्दैं पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले हामीले विदेशमा देखेका ठुला चिल्ला सडक अब नेपालमै देख्न पाइने तर, त्यसका लागि केही समय धैर्य गर्नुपर्ने बताए ।
‘यस कार्यका लागि सबैभन्दा पहिला म दातृ निकाय एशियन विकास बैंकलाई धन्यवाद दिन चाहन्छु’ कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता ओलीले भने ,‘यो विकास नभएर विकासको पूर्वाधारमात्र हो ।’ हामीकहाँ केही पूर्वाधार निर्माण गर्नेवित्तिकै खान पाईन्छ भन्ने नकारात्मक टिप्पणी गर्ने चलन रहेको बताउँदै उनले स्वास्थ्य, शिक्षा, विद्युत सञ्चार यी सबै विकासका पूर्वाधार भएपनि यी कसैले पनि खाना चाहिँ नदिने स्पष्ट पारे । यी कुरालाई हामीले अवसरका रुपमा प्रयोग गरेर हरेक क्षेत्रको विकासमा ध्यान दिनुपर्ने उनको भनाई थियो । ‘न सडकले भात खान दिन्छ, न त शिक्षा र स्वास्थ्यले नै न विद्युत र सञ्चारले नै’ ओलीले भने ,‘ भात खान नदिए पनि यी पूर्वाधारले भात खाने अवस्था र अवसर चाहिँ सिर्जना गर्छन् । भात त आफैले जन्माएका बच्चाले समेत दिदैनन् ।’ यसकारण भात खान पाउने अवसरका लागि यस्ता कामहरु आबश्यक भएको उनको भनाई थियो ।

हरेक विकासका पूर्वाधारले उत्पादन र रोजगारीसँग जोड्ने भएकाले हरेक क्षेत्रका पूर्वाधारलाई विकास र उद्यमशिलतासँग जोड्नुपर्ने आजको आवश्यकता भएको उनले औल्याए । यस्ता पूर्वाधारलाई विकाससँग जोड्न सके स्थानीय स्तरमा नै रोजगारीको अवसर सिर्जना हुने, थुप्रैले रोजगारी प्राप्त गर्नेमा उनले विश्वास व्यक्त गरे । त्यसकारण पनि हरेकले यस्ता अवसरलाई समयमै सदुपयोग गर्नुपर्ने नेता ओलीले बताए । ‘निर्धारित समयमै यस कार्य सम्पन्न हुनेमा म ढुक्क छु ’पूर्व प्रधानमन्त्री ओलीले भने ,‘यसमा हामी सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौ ।’

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले कार्यक्रमको अध्यक्षता गर्दै निर्माण कार्य सम्झौता भएअनुसारको समयमै शुरु भएर समयमै सकिने दावी गरे । उनले १ सय २० किलोमिटर लम्बाईमध्ये ९५ दशमलव ७६ किलोमिटर सडकको स्तरोन्नतिका लागि एशियन विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको संयुक्त लगानी रहेको बताए ।

एडीबी र नेपाल सरकारबीच ७ जुलाई २०२३ मा ऋण सम्झौता र ३१ डिसेम्बर २०२९ मा सम्झौता समाप्त हुने जारी प्रेसनोटमा जनाईएको छ । काँकरभिट्टा–केर्खा ४५ किलोमिटर स्तरोन्नतिका लागि दमकमा रहने गरी पूर्वी खण्डको योजना कार्यालय स्थापना गरिएको छ भने केर्खा–इटहरी खण्ड ५० दशमलव ७६ किलोमिटर स्तरोन्नतिका लागि इटहरीमा योजना कार्यालय स्थापना गरिएको छ । कुल ९५ दशमलव ७६ किलोमिटर सडकलाई तीन वटा प्याकेजमा विभाजन गरिएको छ । ३ सय मिटरभन्दा लामा ६ वटा पुलहरुलाई २ वटा प्याकेजमा विभाजन गरिएको र विशेष आकारका आकर्षक पुलको रुपमा डिजाईन गरिएको बताईएको छ । २०८० कात्तिक २ गते सवै ठेक्काको सम्झौता गरिएको, २०८० माघ १९मा काम शुरु गरेर २०८३ माघ १९ मा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । सबै ठेक्काको निर्माण अवधि ३ वर्ष राखिएको, निर्माण सम्पन्नपछि पनि थप ६ वर्षसम्म मर्मत संभार कार्य सोही निर्माण कम्पनीबाटै गराउने व्यवस्था गरिएको छ ।

शिलान्यास समारोहमा एडीबीका प्रमुख प्रतिनिधि, कोशी प्रदेशका खानेपानी सिँचाई तथा ऊर्जा मन्त्री एकराज कार्की,कोशी प्रदेशका प्रदेश सभा सदस्यहरु, पालिकाका प्रमुख ,उपप्रमुखहरु , विभिन्न राजनीतिक दलका प्रमुख, प्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख, प्रतिनिधिहरु, उद्योगी, व्यवसायी, सुरक्षाकर्मी, अधिकारकर्मी, सञ्चारकर्मीलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

ओलीले बुधबार नै कन्काई नदीमा शिवगञ्ज—मदरगाछ जोड्ने पक्की पुलको शिलान्यास गरेका छन् । झापा जिल्लाको पुरानो बजार शिवगञ्जदेखि मदरगाछ जोड्ने माईखोलामा प्रतिनिधि सभा सदस्य एलपी साँवाको पहलमा पक्की पुल निर्माण गर्न लागिएको नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुंगेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्