कुमरखोद , जेठ ९ । झापा गाउँपालिका वडा नंं. ४ मा रहेको डिल्लीराज माध्यमिक विद्यालयको प्रधानाध्यापकमा फेरि गोपीप्रसाद पराजुलीले निरन्तरता पाउने भएका छन् ।


मंगलवारसम्म डिल्लीराज माविमा दुईजना प्रधानाध्यापक कार्यरत रहेका थिए । एकजनालाई स्थानीय सरकारले प्रअ बनाएको थियो भने अर्कालाई विद्यालय व्यवस्थापन समितिले । एउटै विद्यालयमा दुईजना प्रधानाध्यापक भएपछि विद्यार्थी , शिक्षक, कर्मचारी र अभिभावक दुविधामा परेको थिए । उच्च अदालत विराटनगर , इलाम इजलासको जेठ ९ गतेको सुनवाईले विरेन्द्रप्रसाद गुप्तालाई प्रधानाध्यापकको रुपमा कामकाज गर्न अन्तरिम आदेश जारी नगरी निमित्त प्रअ रहेका पराजुलीलाई निरन्तरता दिने भनी आदेश जारी गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलाम शेखले गत बैशाख २४ गते उच्च अदालत नियमावली २०७३ को नियम ३० वमोजिम अन्तरिम आदेशका लागि पूरक निवेदन पेश गरेका थिए । तर उच्च अदालतले उल्लेखित रिट निवेदनमा उल्लेख गरेको तथ्य र सो निवेदनका सम्वन्धमा यस अदालतबाट भएको आदेशपछि पूरक निवेदन गर्दाको अवस्थामा कुनै तात्विक फरक परेको नदेखिएको हँुदा निवेदन मागबमोजिम गरिरहन नपर्ने जनाएको हो ।

जेठ २ गते विद्यालय व्यवस्थापन समितिका बहुसंख्यक सदस्यहरुले बैठक बसी गुप्तालाई प्रअको जिम्मेवारी दिएका थिए भने पराजुलीलाई शिक्षकको रुपमा काम गर्न निर्देशन दिएका थिए । गुप्तालाई प्रअको जिम्मेवारी दिएपछि झापा गाउँपालिकाको कार्यालयले जेठ ४ गते विद्यालय व्यवस्थापन समितिमाथि अदालतको अवहेलनाको मुद्धा दायर गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्