शिवसताक्षी, जेठ १० । नेकपा एमाले शिवसताक्षी नगर कमिटीको दोस्रो नगर अधिवेशन बिहीवारबाट शुरु भएको छ ।

शिवसताक्षीको दूधेमा दोस्रो नगर अधिवेशनको नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै पोलिटव्यरो सदस्य तथा झापा इन्चार्ज भट्टराईले नेकपा एमाले देशको प्रमुख शक्ति भएकै कारण घेराबन्दीमा परेको बताए । ‘कमजोरलाई कसैले पनि घेराबन्दी गर्दैन’उनले भने,‘ नेकपा एमाले राष्ट्रिय राजनीति र नेपालको राष्ट्रियताको सम्बद्र्धन गर्ने सन्दर्भमा ठिक ठाउँमा उभिएकै कारण घेराबन्दीमा परेको हो ।’ एमालेलाई जति घेराबन्दी गरिन्छ ,पार्टी त्यति नै सफल र चर्चामा रहने उनको भनाई थियो ।

‘अहिले आएका नयाँ पार्टीहरु खहरे हुन् ,बर्षात भएका बेला उर्लिन्छन् । आफै समाप्त हुन्छन्’ उनले भने ,‘होइन भने, पछिल्लो पल्ट निर्वाचन भएको इलाम २ मा स्वतन्त्र पार्टीको जमानत जफत भयो । पर्खदै जानुहोस् केही समयपछि जमाना जफत हुने वाला छ ।’

संघीय सांसद एलपी साँवा लिम्बूले नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल नेतृत्वमा २००६ सालमा स्थापना भएर विभिन्न आरोह अवरोह पार गर्दै यो अवस्थामा आएको बताए । उनले नेकपा एमालेको जबजको सिद्धान्तको मार्गदर्शन अँगाली मुलुकलाई समृद्ध बनाउनु पर्छ भनेर पार्टीका धेरै योद्धाहरुको त्याग बलिदानबाट आज यो अवस्थामा आइपुगेको जानकारी दिए । उनले नेकपा एमालेले दोस्रो अधिवेशनबाट पार्टीलाई एक ढिक्का बनाएर लैजाने सक्ने नेतृत्व चयन गर्न सबै प्रतिनिधिहरुलाई सुझाए ।
अधिवेशनले नगर कमिटीले प्रस्तुत गरेको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा पुराना पार्टी सदस्य र विभिन्न समयमा पार्टीमा योगदान पुर्याउने तीन जनालाई सम्मान गरिएको छ । शिवसताक्षीकै पुराना पार्टी सदस्य तथा पूर्व सांसद तारासम योङ्या, भूमिगत अवस्थामा पार्टीमा योगदान दिने देवीप्रसाद रेग्मी र आइतमाया लिम्बुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

अधिवेशनमा नेकपा एमाले जिल्ला सचिव शिव ढुंगेल, केन्द्रीय कमिटी सदस्य तथा शिवसताक्षी इन्चार्ज मेनुका काफ्लेलगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनमा केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, नगर कमिटीका पदाधिकारी तथा सदस्य, वडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नगर कमिटीका कार्यवाहक अध्यक्ष कमल नेपालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भिम लिवाङले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्