बिर्तामोड, जेठ १३ । झापाको बिर्तामोड ४ कालिकानगरमा मध्यरातमा आफ्नै घरभित्रै एकजना बृद्धाको हत्या भएको आज १७ दिन पुगेको छ ।

हत्याराको खोजीका लागि प्रहरीको चारवटा टोली लगातार खटिएपनि अहिलेसम्म कुनै सुराक फेला पार्न सकेका छैनन् । बिर्तामोड–४ कालिकानगर निवासी ६८ वर्षीया विष्णुमाया विष्टको बैशाख २६ गते हत्या भएको थियो । घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी बिर्तामोडको प्रहरीको टोली गरी चारवटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका छन् । तर, अहिलेसम्म उपलव्धि हासिल गर्न सकेका छैनन् । चारवटा प्रहरी टोलीले अनुसन्धान गरेको दुई साताभन्दा बढी भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।‘ त्यस घटनालाई हरेक एंगलले हेरेर अनुसन्धान गर्न कुनै पनि कसर बाँकी राखेका छैनौं’उनले भने , ‘ यद्यपि अहिलेसम्म उपलव्धि हासिल हुन सकेको छैन । ’

घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन् । उनको खन्तीले हानेर हत्या गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुरसमेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही संकेत दिए पनि लिटल फ्लावर्स स्कुलदक्षिण पुगेपछि अल्मलिएको थियो ।

यसैबीच नेकपा एमालेले बृद्धाको क्रुर र अमानवीय ढंगले भएको हत्याले बिर्तामोडको सुरक्षा व्यवस्था चुनौतिपूर्ण बनेको जनाएको छ । नेकपा एमाले बिर्तामोडको दोस्रो अधिवेशनमा त्यस घटनाबारे ध्यानाकर्षण गरिने भएको हो । नगर अध्यक्ष सुवास भट्टराईका अनुसार यो घटनाले एकातिर बढ्दो लागूऔषध दुर्व्यसनले गर्दा समाजमा मानवीय संवेदना हराउँदै गएको देखिन्छ भने अर्काेतिर समाजमा अपराध मनोबृत्ति डरलाग्दो बन्दै गएको छ ।

रोजगार र अध्ययनको लागि परिवारका सदस्यहरु घरबाट टाढा देश बिदेश जाने प्रवृति बढ्दै गएको परिवेशमा एक्लै बसोबास गर्नु पर्ने जेष्ठ नागरिकहरुको सम्मानजनक र सुरक्षित बसोबासको लागि राज्यबाटै जेष्ठ नागरिक आवासीय भवनको निर्माण, व्यवस्थापन र संचालन गर्नुपर्ने एमालेले माग गरेको छ । विष्टका कान्छा छोरा प्रकाश विष्ट नेकपा एमालेनिकट अनेरास्ववियूका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्