बिर्तामोड, जेठ १४ । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी बेरुजु बिर्तामोडमा भएको पाइएको छ ।

महालेखा परीक्षणको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ अनुसार बिर्तामोडमा सबैभन्दा बढी बेरुजु रहेको पाइएको हो ।
आइतबार महालेखा परीक्षकको कार्यालयले ६१औँ बार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेको छ । महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

महालेखा परीक्षणको प्रतिवेदन अनुसार बिर्तामोड नगरपालिकामा सबैभन्दा बढी ४.५४ प्रतिशत बेरुजु रहेको पाइएको हो । मेचीनगर नगरपालिकाबाहेक अन्य १४ पालिकाको सार्वजनिक प्रतिवेदनमा कनकाई नगरपालिका र अर्जुनधारा नगरपालिका बढी बेरुजु भएको दोस्रो र तेस्रो पालिकाको सूचीमा रहेका छन् । कनकाईको ३.९१ र अर्जुनधाराको ३.५५ प्रतिशत बेरुजु रहेको छ ।सबैभन्दा कम झापा गाउँपालिकामा ०.५७ प्रतिशत बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

शिवसताक्षी नगरपालिकाको ३.१६ , कचनकवल गाउँपालिकाको २.८९ , बुद्धशान्ति गाउँपालिकाको २.७९ , दमक नगरपालिकाको २.३८ , गौरादह नगरपालिकाको २.३० , कमल गाउँपालिकाको २.२८ , गौरीगञ्ज गाउँपालिकाको १.९० , हल्दिवारी गाउँपालिकाको १.१८ , भद्रपुर नगरपालिकाको ०.९४ र बाह्रदशी गाउँपालिकाको ०.७४ प्रतिशत रहेको छ । महालेखा परीक्षकको कार्यालयले देशभरिका ७५३ पालिकामध्ये ७४८ वटाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्