झापा, जेठ १४ । झापा जिल्लामा यही जेठ १६ गतेदेखि पोलियोविरुद्धको सुईबाट लगाईने खोप लगाईदै छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/05/446a4393-0bc9-4280-b337-60d4e8f0243a-1024x461.jpg)
यस अभियानअन्तर्गत नियमित खोप कार्यक्रममा छुटेका २०७३ वैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका करिव ४५ हजार ६४८ बालबालिकाहरुमा पोलियो विरुद्धको खोप (आई.पी.भी) लगाउने योजना रहेको छ । लक्षित समूहका बालबालिकालाई एक मात्राको आई.पी.भी खोप लगाएर पोलियो रोगविरुद्धको प्रतिरोध विरुद्धको क्षमता कायम गर्नु नै यस अभियानको मुख्य लक्ष्य भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापा जिल्लाअन्तर्गतका पन्धै्र वटा स्थानीय तहका तोकिएका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तालिमप्राप्त स्वास्थ्यकर्मीहरुद्वारा यस खोप लगाइन्छ । विद्यालय बाहिर रहेका उक्त उमेर समूहका बालबालिकालाई पनि नजिकको खोपकेन्द्रमा लगि खोप लगाउन सकिने स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले बताए । यस अभियानमा खोप लगाईसकेपछि लक्षित समूहले अनिवार्य अभियान खोप कार्ड पाउने उनले बताए । राष्ट्रिय आई.पी.भी खोप अभियान देशव्यापीरुपमा जेठ १३ देखि २६ गतेसम्म संचालन भइरहेको छ । झापामा विद्यालय लक्षित ५५२ वटा खोपकेन्द्र तोकिएका छन् । अभियानका लागि ४९४ स्वास्थ्यकर्मी र ८३६ जना स्वयंसेविका खटाइने खोप अधिकृत पोखरेलले जानकारी दिए ।
स्वास्थ्य कार्यालयमा आयोजित संचारकर्मीहरुसंगको अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य अधिकृत प्रकाश पाठक , जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नर्सिङ अधिकृत सुनिता राईले गरेकी थिइन् ।