झापा, जेठ २१ । झापाको दमकदेखि इलामको माङ्सेबुङतर्फ जाँदै गरेको बोलेरो जीप रतुवा खोलाले बगाउँदा दुई जनाको मृत्यु गएको छ ।


एक महिला र एक बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगूले जानकारी दिए । मृत्यु हुनेहरुमा इलाम माङ्सेबुङ गाउँपालिका ५ बस्ने वर्ष अन्दाजी ३० की सर्मिला वानेम र माङ्सेबुङ गाउँपालिका ३ बस्ने निरु लिम्बुका छोरा अन्दाजी वर्ष २ का निहाङ लिम्बू रहेका छन् । त्यस्तै इलाम माङ्सेबुङ गाउँपालिका ३ खलङ्गे बस्ने वर्ष अन्दाजी २६ की निरु लिम्बू घाइते भएकी छन् । उनको लाइफ लाइन अस्पताल दमक झापामा उपचार भइरहेको छ । आज साँझ ५ः५० बजेको समयमा इलाम चुलाचुली ५ चपेटीस्थित दमक–लारुम्बा भित्री सडकखण्डमा दमकदेखि माङ्सेबुङतर्फ जाँदै गरेको तत्काल ( लु १ च ९४९१नम्बरको डबल क्याब बोलेरो गाडी भन्ने बुझिएको , तर एकिन नभएको) रतुवा खोला पार गर्ने क्रममा खोलामा आएको बाढीको कारण गाडी बगाइ बेपत्ता भएको थियो ।

गाडीमा चालकसहित जम्मा ६ जना सवार रहेका थिए । घटनास्थलदेखि अन्दाजी १–२ किलोमिटर आसपासमा मृतकको शव फेला परेको थियो । चालकसहित तीनजना सकुशल निस्किएको प्रहरीले जनाएको छ । चालक तत्काल सम्पर्कमा नआएको,बुझ्ने कार्य भइरहेको तथा गाडी घटनास्थलबाट निकाल्ने पहल भइरहेको डीएसपी जवेगूले जानकारी दिए । घटनास्थल तत्काल सुरक्षित राखी आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक निशान थापाको कमाण्डमा प्रहरी टोली खटिएर मुचुल्का उठाउने काम भइरहेको डीएसपी जवेगूले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्