झापा, जेठ २५ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् ।

शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । सिंह एमालेका २४ सहित ६ दलका ५५ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

सिंहले पालिका अध्यक्ष हुँदै मुख्यमन्त्रीसम्मको यात्रा तय गरेका हुन् । शरतसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टी र राजपा हुँदै उनी जनमत पार्टीबाट प्रदेश सांसद चुनिएका थिए । प्रदेशसभा निर्वाचनको केही दिनअघि मात्र उनी जनमत पार्टीमा प्रवेश गरेका थिए ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडी गाउँका सतिश ०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । ५ वर्षपछि भएको चुनावमा भने उनी पराजित भए । स्थानीय तहमा पराजित भएको केही महिनामै भएको प्रदेशसभा चुनावमा भने उनी विजयी भए ।

मुख्यमन्त्री सिंहका बुवा पनि राजनीतिमा रहेका छन् । उनका बुवा शेखरकुमार सिंह अहिले राष्ट्रिय सभा सदस्य रहेका छन् । शेखरकुमार ०७६ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनी अहिले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)मा आबद्ध छन् । लोसपा अहिले संघ र प्रदेश दुवैमा प्रतिपक्षमा रहेको छ ।

यसैबीच मुख्यमन्त्री सिंह नेतृत्वको मधेश सरकारको पहिलो मन्त्रिपरिषद बैठकले संसदीय क्षेत्र विकासका लागि प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट परिचालन गर्न दिने निर्णय गरेको छ ।

शुक्रबार सपथ ग्रहणलगतै बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको भएको अर्थमन्त्री भरत साहले बताए । मन्त्रिपरिषद बैठकमा अन्य समसमायिक विषयमा छलफल भएको साहले बताए ।सांसदलाई बजेट दिने कार्यक्रम संघमा विवादको मुद्दा हो । बजेट दुरुपयोग भएपछि यस्ता कार्यक्रम ल्याउनै नहुने गरी विगतमा संघमा खारेज भएको थियो ।संघमा पनि अघिल्लो पटक पुन ब्युँत्याएपछि त्यसबारे अदालतमा समेत प्रश्न उठाएको थियो । अहिले संघको बजेटमा यस्तो कार्यक्रम परेको छैन ।

सांसदमार्फत् योजना चलाउने कार्यक्रमहरू प्रदेशले पनि केन्द्रबाट सिको गरेका हुन् । अहिले मधेश मधेशमा नयाँ सरकार बन्नेबित्तिकै सांसदमार्फत् पैसा खर्च गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्