बिर्तामोड, जेठ २५। बाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई बाह्रदशी जेसीजले अभिभावकत्व ग्रहण गरेको छ ।


जेसीजको दिगो विकास कार्यक्रमअन्तर्गत विद्यार्थीको सम्पूर्ण खर्च ब्यहोर्ने गरी जेसीजले यस वर्ष १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको हो । योसंगै विद्यार्थीलाई विद्यालय पोशाकसहित आबश्यक पर्ने स्टेसनरी सामग्री, जुत्तामोजा समेत प्रदान गरेको छ ।

विद्यार्थीलाई वर्षभरि पुग्ने कपी, पेन्सिल,डट्पेनसहितका शैक्षिक सामग्रीसंगै स्कूल ब्याग समेत प्रदान गरिएको छ ।
बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाई,उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेल, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलालगायतको सहभागितामा गाउँपालिकामा आयोजित कार्यक्रममा जेसीजले १६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको हो ।

बाह्रदशी जेसीजका अध्यक्ष खगेन्द्र सुवेदीको अध्यक्षता र गाउँपालिका अध्यक्ष चम्लागाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थीलाई नगदसहित स्टेसनरी सामग्री, स्कूल ब्याग प्रदान गर्दै अभिभावकत्व ग्रहण गरिएको घोषणा गरिएको थियो ।

गाउँपालिकाभित्र रहेका रहेक एक ÷एक वटा सामुदायिक विद्यालयबाट एक÷ एक जना विद्यार्थीलाई छनोट गर्दै बाह्रदशी जेसीजले अभिभावकत्व ग्रहण गरेको हो ।
विपन्न समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र उनीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न बाह्रदशी जेसीजले गत बर्षबाट यो कार्यक्रम सञ्चालन गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दिँदै यस बर्ष पनि कार्यक्रम सञ्चालन गरिएको बाह्रदशी जेसीजका अध्यक्ष सुवेदीले बताए ।

जेसीजले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीको सबै खर्च अब जेसीज पदाधिकारीले ब्यहोर्ने छन् । जेसीजमा आवद्ध एक÷ एक जना ब्यक्तिले एक÷एक जना विद्यार्थीको सबै खर्च ब्यहोर्ने बताइएको छ ।

बाह्रदशी जेसीजका उपाध्यक्ष राजु अधिकारीले आस्था बाचन गरेको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चम्लागाई, उपाध्यक्ष खरेल, प्रमुख प्रशासकीय अधिकृत निरौलासहित शिक्षा शाखाका निमित्त प्रमुख योगराज पौडेल, पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल, घोडामारा आधारभूत विद्यालयका प्रधानाध्यापक कमल चम्लागाईलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
बाह्रदशी जेसीजका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममा बाह्रदशी जेसीजका कार्यकारिणी उपाध्यक्ष नवीनकुमार त्रितालले स्वागत गरेका थिए भने बाह्रदशी जेसीजकी कार्यकारिणी उपाध्यक्ष सदिक्षा खड्काको संयोजकत्वमा कार्यक्रम गरिएको थियो । उनले कार्यक्रमका सहभागीलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन महासचिव सञ्जय साहले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्