झापा ,असार २८ । कास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर पुर्दा सातजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

पोखरा– १९ पुरनचौरमा पहिरो जाँदा सातजनाको ज्यान गएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। दुईजनालाई घाइते अवस्थामा उद्धार गरेको उनले बताए। मृतक र घाइतेको परिचय खुल्न भने बाँकी छ।
सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आज बिहान पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ । ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो ।
घरभित्र सुतेका घरधनी अन्दाजी ५०÷५१ वर्षका तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको पहिरोमा पुरिएर मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए ।
उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीहरूले उद्धार गरेका थिए । केही दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको सतह बढेको छ ।