
झापा,असार २८ । वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा विभिन्न समयमा ज्यान गुमाएका आठ जनाको शव एकैसाथ स्वदेश पठाइएको हो । नेपाल एयरलाइन्सको वाइड बडीमार्फत शव पठाइएको नेपाली दूतावास अबुधाबीका श्रम काउन्सिलर दीनबन्धु सुवेदीले पुष्टि गरे। नेपाल पठाइएका श्रमिकहरूको विभिन्न कारणले फरकफरक समयमा मृत्यु भएको र केही लासहरू अलपत्र परेका थिए।
मृत्यु हुनेहरूमा झापाका जीवनकुमार सिग्देल, मोरङका दीपक सापकोटा, नुवाकोटका रमेश ओझा, म्याग्दीका ताबिन जुग्जाली, सिन्धुलीका युवराज कुँवर, गुल्मीका बालकृष्ण थापा, दाङका हीराबहादुर डाँगी र गोर्खाका मनिष तामाङ रहेका छन्। मृत्यु भएकाहरूमध्ये हीराबहादुरले आत्महत्या गरेका थिए भने मनिष तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो। दुई जनाको हृदयाघात, दुई जनाको मुटुको चाल बन्द भएर (कार्डियक एरेस्ट) र बाँकी दुई जनाको भने प्राकृतिक (नेचुलर) कारणले मृत्यु भएको जनाइएको छ।
नेपाल पठाइएका शवमध्ये ५ जनालाई वैदेशिक रोजगार बोर्डको खर्च र बाँकी ३ जनालाई उनीहरू कार्यरत कम्पनीको खर्चमा पठाइएको काउन्सिलर सुवेदीले बताए। नेपालमा श्रम अनुमति लिएर वैदेशिक रोजगारीमा गई विभिन्न कारणले मृत्यु भएमा श्रमिकहरू कार्यरत कम्पनीको अवस्था बुझी बोर्डले आफ्नो खर्चमा शव स्वदेश पठाउने गरेको छ । पर्यटक भिसामा गई काम गरिरहेका श्रमिकहरूको मृत्यु भएमा भने शव पठाउन कठिनाइ हुने गरेको छ ।
मृत्यु भएकाहरूमध्ये रमेश ओझा, दीपक सापकोटा, युवराज कुँवर र ताबिन जुग्जालीका लास केही दिन अलपत्र परेको थियो। प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) को सहयोगमा नेपालमा रहेका परिवारको खोजी गरी उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ।
पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले विभिन्न देशहरूमा रोजगारी गरिरहेका नेपालीहरू समस्यामा परे वा मृत्यु भएमा आफ्नो संस्थाले सहयोग र सहजीकरण गर्ने गरेको बताए। श्रम काउन्सिलर सुवेदीका अनुसार पछिल्लो आर्थिक वर्षमा यूएईमा मात्र २ सय २२ जना नेपालीहरूको मृत्यु भएको छ। तीमध्ये अधिकांशको मृत्यु प्राकृतिक भनिए पनि यसबारे थप अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ ।
गत जनवरी १ देखि अहिलेसम्म ६ महिनाको अवधिमा मात्र यूएईमा १ सय ३४ जना नेपालीहरूको मृत्यु भएको छ। जसमध्ये २८ जना श्रमिकहरूले आत्महत्या गरेका छन्। हृदयाघातको (प्राकृतिक) कारण ८६ जनाको मृत्यु भएको छ। पारिवारिक र अन्य कारणले उत्पन्न तनावलाई व्यवस्थापन गर्न नसक्नाले आत्महत्याको संख्या बढेको हुन सक्ने उनको भनाइ छ ।