लक्ष्मी उप्रेती,
मेचीनगर । यस वर्षको भानु साहित्यिक राष्ट्रिय पुरस्कार संस्कृतिविद, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.जगमान गुरुङलाई प्रदान गरिएको छ ।

२११ औँ भानु जयन्तीको अवसरमा मेचीनगरमा शनिवार आयोजित एक कार्यक्रममा गुरुङलाई नगद एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री एकराज कार्की र विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए ।
काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आयोजना गरेको कार्यक्रममा सम्मानित व्यक्तित्व गुरुङले राजनीतिले हरेक क्षेत्रलाई फुटाउने गरेकोमा भाषा, कला, साहित्य र संस्कृतिले त्यसलाई जोड्ने गरेको बताए । राजनीति गर्ने हरेक व्यक्तिहरुलाई भाषा, कला, साहित्य र संस्कृतिलाई आत्मसात गरेर अघि बढ्न सुझाव दिए । ‘राजनीतिले हरेकलाई विखण्डित गर्छ’, गुरुङले भने,‘साहित्यले राजनीतिलाई जोड्छ । धर्म र संस्कृतिलाई मानेर राजनीति गरे सफल हुन्छ ।’ सम्मानित व्यक्तित्वका बारेमा अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीले प्रकाश पारेका थिए ।
सोही अवसरमा विभिन्न विधाका श्रष्टा र संस्थालाई सम्मान गरिएको थियो । कृषि क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्र्याएको र हरेक कृषकहरुलाई उन्नत जातको बीउ साथै कृषि उपकरणमा सहयोग पुर्याएको भन्दै मेची कृषक बहुमुखी सहकारी संस्था र भानु पुस्तकालयका लागि पुस्तक प्रदान गर्ने महेन्द्रद्वार सहकारी संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो ।
हेमराज—मेदनी खरेल संगीत साधना प्रतिभा पुरस्कार संगीत साधना प्रतिष्ठान नेपाल सुनसरीलाई , कृष्ण—पवित्रा उप्रेती साहित्यिक प्रतिभा पुरस्कार सुसेली साहित्यिक प्रतिष्ठान मेचीनगरलाई ,हेमराज—मेदनी खरेल साहित्य तथा सञ्चार प्रतिभा पुरस्कार सञ्चारकर्मी पिनाकीप्रसाद कोइरालालाई, कृष्ण—पवित्रा उप्रेती खेलाडी प्रतिभा पुरस्कार टेवलटेनिस खेलाडी अमिता गिरीलाई प्रदान गरियो । पुरस्कारको राशि जनही २१ हजार रुपैयाँ नगद रहेको छ । त्यस्तै नगद १५ हजार रुपैयाँ र सम्मानपत्रसहितको भानु उद्यमी पुरस्कार खड्गबहादुर अधिकारीलाई प्रदान गरियो । भानु प्रशंसा पुरस्कार केन्द्रप्रसाद भट्टराई र जयप्रसाद आचार्यलाई प्रदान गरियो । जुन पुरस्कारको राशि जनही नगद पाँच हजारसहित सम्मानपत्र रहेको छ ।
खुल्ला कविता गोष्ठी प्रतियोगितामा प्रथम नन्दी भट्टराई (नुरान) लाई ५ हजार, दोस्रो हुने दधिराम खनाल (दुर्लभ) लाई ३ हजार र तेस्रो हुने दिपेश राउतलाई २ हजार नगदसहित पुरस्कृत गरिएको छ । कार्यक्रम शुरु हुनुअघि पञ्चे बाजागाजा र झाँकीसहित प्रभातफेरि गरिएको थियो । कार्यक्रममा मेची भन्सार कार्यालय काँकरभ्टिाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक मीमबहादुर लामा, सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म बिओपी काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक राजनलाल श्रेष्ठले आ–आफ्ना रचना वाचन गरेका थिए ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष डिल्लीराम घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्षता गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष मेदनीप्रसाद खरेल र सञ्चालन महासचिव सुशील आचार्यले गरेका थिए ।