बरतलाल राजवंशी,
कुमरखोद ।झापाको मध्यभाग भएर बग्ने कन्काई नदीले झापा गाउँपालिकामा कटान शुरु गरेको छ । पानीको बहाव घटेसँगै नदीले तीब्र रुपमा कटान गरेको हो ।


झापा गाउँपालिका वडा नंं. को २ सुँगाबथान गाउँको आसपास क्षेत्रमा अहिले कन्काई नदीले तीब्र रुपमा कटान गरिरहेको छ ।
पहिले कन्काई नदी सुँगाबथान गाउँदेखि पश्चिम उत्तरमा करिव ५०० मिटर टाढा भएर बग्थ्यो भने अहिले नदीेको मुख्य वहाव गाउँको सिधै उत्तरतर्फ करिव १०० मिटरनजिकै आइसकेको छ । नदीको मुख्य वहाव गाउँतिर फर्केपछि अहिले गाउँ नै त्रसित बनेको छ । यदि समयमा नै नदीको मुख्य वहावलाई पश्चिम दक्षिण दिशातर्फ नफर्काए ठुलो धनजनको क्षति हुने स्थानीय बासिन्दाहरुको चिन्ता छ । यदि बाढीको समयमा कन्काई नदीको मुख्य वहाव गाउँतिर आईदियो भने सबैभन्दा ठुलो क्षति वडा नं २ को सुँगाबथान, कुवाडी , सडकवाडी , बालुवाटार र वडा नं १ को मिलनवस्ती , सितुमारी , लसुनगंज , सालमारा गाउँलाई हुने र सयौं घरधुरी विस्थापित हुने खतरा देखिएको छ ।

कुवाडीवासी श्यामनारायण शाह गत असार २५ गते कन्काई नदीको बाढी कुवाडी गाउँमा प्रवेश गर्नुको मुख्य दोष सुँगाबथानका गाउँका ३–४ जना व्यक्तिलाई दिन्छन् । उनीहरुले नदीमा तटबन्ध गर्न नदिँदा गाउँमा वाढी प्रवेश गरेको उनको गुनासो छ । ‘यदि उनीहरुले समयमा नदीमा तटबन्ध गर्ने दिएको भए नदीको बाढी गाउँमा प्रवेश गर्ने थिएन’शाह भन्छन् । त्यसैगरी अर्का स्थानीयवासी देवेन्द्र आचार्यको भनाई पनि उस्तै रहेको छ । २०७४ सालमा नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेवे र क्षेत्रीय सभापति जयनारायण शाहको पहलमा जनताको तटबन्ध गैंडे र झापा गाउँपालिकाको सहयोगमा करिव ९–१० किलोमिटर बाँधको निर्माण भएको थियो । त्यतिवेला सुँगाबथानका केहि मानिसहरुले आफ्नो खेतको जग्गा विग्रिन्छ भनेर बाँध बनाउन अवरोध गरेका थिए । सुँगाबथानका धरमलाल हेमरम कन्काई नदी गाउँतिर मुख्य धार भएर आउनुको दोष चाँहि पंथापाडाका मुस्लिम समुदायका एक व्यक्तिलाई दिन्छन् । कन्काईको बगर फडानी गरेर मकै रोप्ने क्रममा नदी नजिकैको सम्पूर्ण जग्गा लेभलिङ गर्दा खोला गाउँतिर फर्केको उनको बुझाई छ । उनले अब खोलाको छेउछेउमा कसैलाई पनि जोतखन गर्न नदिने बताए ।

नदीले तीव्र रुपमा कटान शुरु गरेपछि ठाउँ– ठाउँमा बाँसको पाईलिङ गाड्ने काम भइरहेको झापा गाउँपालिका वडा नं २ अध्यक्ष हिमालकुमार चम्लागाईले बताए । चम्लागाईका अनुसार कटान भएको ठाउँमा ६० मिटरभन्दा बढी बाँसको पाईलिङ गाड्ने काम भइसकेको छ । सुँगाबथानको मुख्य धारमा पानीको वहाव कम हुनेबित्तिकै २०० मिटरभन्दा वढी बाँसको पाईलिङ गरिने उनले बताए । जनताको जीउधन बचाउनको लागि तटबन्धलाई निरन्तरता दिन वडा नं २ को कार्यालयबाट १८०० मिटरको लामो तटवन्ध बनाउनका लागि जिल्ला विपद् व्यवस्थापन समिति झापालाई फाइल बुझाइएको वडाध्यक्षले चम्लागाईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्