झापा, असार ३० । सत्ता लोलुपताका कारण जनाधार गुमाउँदै गएको माओवादी पार्टीका लागि अब जातीय राजनीति असंभव भएको छ ।

सडकसंगै सत्ताबाट समेत हात धुनु परेको नेकपा माओवादी केन्द्रले जातीय मोर्चालाई व्युँताउन गरेको प्रयास महँगो सावित हुने भएको हो । झापामा माओवादी पार्टीले कोचिला राष्ट्रिय मुक्ति मोर्चा , लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाजस्ता जातीय मोर्चालाई व्युँताउने प्रयास गरेको देखिएको छ । तर , ती जातीय मोर्चाहरु नपत्याउने अबस्थामा पुगेका छन् ।

जातीय मोर्चालाई फकाउन पार्टी केन्द्रीय उप–महासचिव तथा प्रदेश इन्चार्ज हरिबोल गजुरेललाई जिम्मेवारी दिइएको छ । गजुरेलको प्रमुख आतिथ्यमा शनिवार लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको बैठक दमकमा बस्यो । त्यसअघि असार १ गते उनकै प्रमुख आतिथ्यतामा कोचिला राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रम बिर्तामोडमा आयोजना गरिएको थियो ।जातीय मोर्चाहरुलाई अपांग बनाएर फेरि उपयोग गर्ने नीति बनाएको माओवादीको कुटिल चालप्रति उत्पीडित जातिहरु चनाखो देखिएका हुन् । अझ पनि वर्गीय,जातीय क्षेत्रीय , लैङ्गिय उत्पीडन कायम छ र त्यसको लागि माओवादी पार्टी लाग्ने भन्दै पार्टीले नारा अगाडि सारेको छ । त्यस नाराप्रति उत्पीडित जातिहरुले कडा प्रतिक्रिया दिएका छन् ।

हल्दिवारीका पूर्व जनप्रतिनिधि खगेन राजवंशी जातीय मुद्धाले ठाउँ नपाएसम्म पूर्वमा माओवादी पार्टीको राजनीति नचल्ने दावी गर्छन् । सशस्त्र द्वन्द्वको बेला अन्य जातिभन्दा अग्रस्थानमा रहेर कोच समुदायले दिएको बलिदान र योगदानलाई मूल्यांकन गर्न नसकेको उनको गुनासो छ ।

पार्टीका मोरङ रंगेलीका नगर सचिव बद्रीनारायण राजवंशीले माओवादीले पहिचानको मुद्धा उठाएर छोडेकोमा घोर आपत्ति जनाए । कोच राज्य र त्यस राज्यको मुख्यमन्त्रीमा पूर्णसिंह राजवंशीलाई घोषणा गरेर पार्टीले एकाएक कोचको मुद्धा छोड्नुमा नेतृत्वको ठूलो कमजोरी भएको उनले औंल्याए ।

मोरङ कानेपोखरीका बमबहादुर राजवंशीले कोचिला मुक्ति मोर्चा कमजोर बन्दा र कोचहरु पलायन हुँदै गर्दा आफूलाई कोच भन्न लाज लागेको प्रतिक्रिया दिएका छन् । माओवादी पार्टी र अध्यक्ष पुष्पकमल दाहाल सत्ताबाट बेदख्खल हुँदा सहानुभूति राख्नेहरुको संख्या धेरै छैन । माओवादी पार्टीले जनतालाई बिर्सेर सत्तालाई नै प्यारो ठानेको कारण देशकै ठूलो पार्टीको जनसमर्थन अहिले थोरै छ ।

माओवादीको हिजोको इतिहास हेर्दा पक्कै केही गर्छ कि भन्ने बिश्वास जनतामा भएर नै २०६४ मा ठूलो पार्टी बनाएका थिए । तर केवल आफ्नो दुनो कस्न, कसरी हुन्छ सत्तामा जान र जनताबेस नभएर गुटगत कार्यकर्तावेस सहरिया राजनीतिमा केन्द्रित हुँदा माओवादी सकिएको प्रदिप उप्रेतीको ठम्याई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्