झापा, साउन १ । बिर्तामोड नगर अस्पतालमा १२ जना क्लिनर पदका लागि २१८ जनाले आवेदन दिएपछि बिर्तामोड नगरपालिका समस्यामा परेको छ । जसका कारण आवेदन परेको ६ महिना बितिसक्दासमेत नगरपालिकाले क्लिनरलगायतका पदको परीक्षा गराउन सकेको छैन ।

गत माघ १० गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले नगर अस्पतालका लागि विभिन्न पदमा विज्ञापन खुलाएका थिए । विज्ञापनमा मेडिकल अफिसर ३ ,हेल्थ असिस्टेन्ट १ ,स्टाफ नर्स ४, रेडियोग्र्राफर १ , ल्याव टेक्निसियन २ , अहेब ५ , अनमि ५ , ल्याव असिस्टेन्ट १ र क्लिनर १२ जना चाहिएको उल्लेख गरिएको थियो । त्यसमध्ये गत बैशाखमा ल्याब टेक्निसियन र ल्याव असिस्टेन्ट पदको परीक्षा मात्र संचालन गरी ३ जना छनोट गरियो । २ जना ल्याव टेक्निसियन पदका लागि ३२ र एकजना ल्याव असिस्टेन्ट पदका लागि ३२ जनाले नै आवेदन दिएका थिए । त्यसमध्ये लिखित र मौखिक परीक्षाबाट ३ जना छानिएका हुन् । बाँकी पदहरुको लागि नगरपालिकाले परीक्षा नै गराउन नसकेको हो ।

नगरपालिकाको प्रशासन शाखाका अनुसार तीनजना मेडिकल अफिसरका लागि १२ जना , ४ जना स्टाफ नर्सका लागि ५५ जना , एकजना रेडियोग्राफरका लागि १३ जना , पाँचजना अहेबका लागि ९२ जना , पाँचजना अनमिका लागि ८३ जनाले आवेदन दिएका छन् । तर, सबैभन्दा धेरै क्लिनर पदका लागि आवेदन परेको हो । १२ जना क्लिनर पदका लागि २१८ जनाले आवेदन दिएपछि परीक्षा गराउनै गाह्रो भएको नगरपालिकाले जनाएको छ ।स्नातक उत्तीर्ण गर्नेहरुले समेत क्लिनर पदका लागि आवेदन दिएका छन् ।झापाका विभिन्न पालिकासहित इलाम , पाँचथर , ताप्लेजुङ, तेह्रथुम, मोरङ, सुनसरी , संखुवासभा, धनुषासम्मका व्यक्तिहरुले क्लिनरका लागि दरखास्त दिएका छन् । आवेदकहरुमा अधिकांश महिला छन् । करारमा नियुक्त गर्न लागिएको ती पदका लागि धेरै सोर्सफोर्स आएपछि नगरपालिकालाई थेग्नै गाह्रो भएको बताइन्छ ।

आवेदकहरुले मेडिकल अफिसरका लागि रु १००० ,हेल्थ असिस्टेन्टका लागि ५०० , स्टाफ नर्सका लागि ५०० , ल्याब टेक्निसियनका लागि ५०० , रेडियोग्राफरका लागि ५०० , अहेबका लागि ४०० , अनमिका लागि ४०० , ल्याब असिस्टेन्टका लागि ४०० र क्लिनरका लागि ३०० रुपैयाँ दरखास्त दस्तुर बुझाएका थिए । आवेदकहरुबाट २ लाख बढी राजश्व संकलन भएको थियो ।

विज्ञापनमा करार अवधि २०८१ असार मसान्तसम्म तोकिएकोमा त्यस अवधिमा नगरपालिकाले परीक्षा नै गराउन सकेन ।कार्यपालिकाको बैठकको निर्णय अनुसार नगर अस्पतालको लागि ती पदहरुमा विज्ञापन खुलाएर आवेदन लिइएपनि ६ महिना बितिसक्दासमेत परीक्षा गराउने कि नगराउने भन्ने विषयमा नगरपालिकाले निर्णय गर्न सकिरहेको छैन । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले खुलाएको विज्ञापनलाई कार्यान्वयन गर्ने जिम्मा अहिलेका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाको टाउकोमा आइपुगेको छ ।

नगर अस्पतालको पूर्वाधार तयार भइनसकेको अबस्थामा आवश्यकताको आधारमा मात्र पदपूर्ति गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले बताए । उनले मापदण्ड नबनाई विज्ञापन खुलाइएको ती पदहरुमा विधि र प्रक्रिया पुर्याएर पारदर्शी ढंगले मात्र पदपूर्ति गरिने जानकारी दिए । सबै आवेदकहरुलाई परीक्षामा सामेल गराउने वा आवेदकहरुको दरखास्त दस्तुर फिर्ता गर्ने विषयमा छिट्टै नगरपालिकाले निर्णय लिने उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्