बिर्तामोड,साउन २ । पटक पटक भाका राखेर पाँच महिनादेखि संचालकहरुले तलब नदिएपछि बिर्तामोड २ बेलडाँगीमा रहेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका शिक्षक कर्मचारीहरु आन्दोलित भएका छन् ।

हिजोदेखि प्रतिष्ठानको प्रशासनिक भवनमा तालाबन्दी गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानमा कार्यरत २० जना शिक्षक कर्मचारीहरुले पाँच महिनाको तलब करिव ३६ लाख रुपैयाँ पाउन बाँकी रहेको संस्थापक शिक्षक नविनकिशोर बिमलीले जानकारी दिए । उनले कार्यरत शिक्षकको तलब रोकेपछि बाध्य भएर आफूहरुले तालाबन्दी गर्नुपरेको बताए । आन्दोलित शिक्षक कर्मचारीहरुले बिर्तामोड नगरपालिकाका नगर प्रमुख र शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।

प्रतिष्ठानको संचालक समितिले गत जेठ ८ गते र जेठ २७ गते शिक्षक कर्मचारीहरुको तलब भुक्तानी गर्ने , विद्यार्थीहरुका लागि प्रयोगात्मक कक्षा संचालन गर्नेलगायतका सहमति गरेको थियो । त्यस सहमति अनुसार असार मसान्तभित्र तलव भुक्तानी गर्ने भनिएको थियो । अहिले फेरि भाखा सारेर साउन अन्तिम र भदौ पहिलो हप्ता भनेपछि आफूहरु आन्दोलित भएको शिक्षक बिमलीले बताए । तलब नपाएपछि शिक्षक कर्मचारीहरुले सामूहिक राजीनामा दिएका छन् ।
आन्दोलनरत शिक्षक कर्मचारीहरुले प्रतिष्ठानमै आज पत्रकार सम्मेलन गरी आफ्ना समस्या सार्वजनिक गरेका छन् । आजै संचालक र आन्दोलनरत शिक्षक कर्मचारीबीच छलफल भएको छ ।

प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीले कुरा राख्ने क्रममा शिक्षक विद्यार्थीहरु आक्रोशित भएका थिए । उनीहरुले फेरि पनि आलटाल गर्ने प्रयास भएकाले आन्दोलन नरोकिने चेतावनी दिएका छन् । भोलि बिहान ८ः३० बजे पुनः बस्नेगरी छलफल सकिएको बिमलीले जानकारी दिए ।

गत जेठ महिनामा भएको सहमति कार्यान्वयन नभएपछि विद्यार्थीहरु पनि आन्दोलित भएका छन् । विद्यार्थीहरुले नियमित पठनपाठन हुनुपर्ने, प्रयोगशालाको व्यवस्थापन गर्नुपर्नेलगायतका माग गरेका छन् ।

हरेक विद्यार्थीहरुसँग १ लाख ७० हजारदेखि १ लाख ८० हजार रुपैयाँसम्म लिने गरिएको छ । बाली विज्ञान, पशु विज्ञान र वन विज्ञान पठनपाठन गरिरहेको प्रतिष्ठानमा एक ब्याचका विद्यार्थीहरु पास आउट भइसकेका छन् । पास आउट भएका विद्यार्थीहरुले सर्टिफिकेट नपाएको, धरौटी वापत बुझाएको रकम फिर्ता नपाएको र छात्रवृत्ति पाउने विद्यार्थीहरुले बुझाएको लाखौं रुपैयाँ फिर्ता नभएको उनीहरुले दुखेसो पोखेका छन् ।

प्रतिष्ठानका अध्यक्ष दर्लामीले स्रोत व्यवस्थापनमा कठिनाई भएको बताए । उनले सिटिइभिटी र स्थानीय तहबाट प्राप्त गर्नुपर्ने बजेट नआएका कारण भुक्तानीमा कठिनाई भएको जानकारी दिएका छन् । यसैबीच प्रतिष्ठानका सहायक प्रधानाध्यापक तथा संचालक समिति सदस्य विष्णुप्रसाद चुडालले राजीनामा दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्