लक्ष्मी उप्रेती,

मेचीनगर। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले झापाको मेचीनगर—१४ मा निर्माण गरिएको होल्डिङ सेन्टरलाई कोशी प्रदेशस्तरीय सुधारगृह बनाउन सकिने बताएका छन् ।

सरकारले कोरोना संक्रमणको तेस्रो लहर आउनुपूर्व करिब २८ करोड रुपैयाँको लगानीमा हनुमान कन्स्ट्रक्सन ललितपुरसँग ठेक्का सम्झौता गरी होल्डिङ सेन्टरका लागि संरचना निर्माण गरेको थियो । सुरुमा काँकरभिट्टा क्षेत्रमै होल्डिङ सेन्टर बनाउने भनिएपनि उपयुक्त जग्गा अभावमा दुहागढीमा निर्माण गरिएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।

छिमेकी मुलुक भारतमा कोडिभ–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरसका संक्रमित देखापर्न थालेसँगै पूर्वी नाका हुँदै भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी मेचीनगर–१४ दुहागढीस्थित हडिया खोला किनारमा सो होल्डिङ सेन्टर निर्माण गरिएको थियो । नेपाली सेनाको रेखदेख र संरक्षणमा रहेको होल्डिङ सेन्टरको बुधबार मध्यान्ह मन्त्री अधिकारीसहित मेचीनगर नगरपालिका प्रमुख बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालगायत जिल्लास्थित सुरक्षा प्रमुखलगायतको टोलीले अवलोकन गरेको थियो ।

‘यत्रो संरचना अहिलेसम्म प्रयोगविहीन रहेछ’अवलोकनपश्चात् सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री अधिकारीले भने,‘हिजोको कोभिडका बखत निर्माण गरेको संरचनालाई अब के गर्ने भनेर मुख्यमन्त्रीसहित झापाका १५ वटै पालिकाका प्रमुख, उपप्रमुख, नेपाल सरकारका प्रतिनिधि, तीन वटै सुरक्षा निकायका प्रतिनिधिको संयुक्त छलफल बैठक बसेर यसलाई के गरेर ‘बेटर सेन्टर’ बनाउन सकिन्छ, केमा प्रयोग गर्न सकिन्छ भनेर अन्तिम टुङ्गो लगाउन सकिन्छ ।’

वैकल्पिकरुपमा सिंगो कोशी प्रदेशस्तरीय पुनःस्थापना केन्द्र विकास गर्न पनि सकिन्छ भन्दैं मन्त्री अधिकारीले त्यसको अतिरिक्त सुधारगृह बनाउन सकिने समेत बताए ।

चार बिघा क्षेत्रफलमा एक हजार जना अट्ने क्षमताको होल्डिङ सेन्टरमा एकै डिजाइनका २२ वटा अत्याधुनिक पक्की भवन छन् । त्यसमा एकहजार बेड रहेको र एकसय बेडमा अक्सिजन जडान गरिएको, १५ वटा डाइनिङ हल, २२ वटा शौचालय, दुई डाक्टर र स्वाथ्यकर्मी बस्ने एडमिन भवन, दुई एडमिन किचन तयार छन् । नगर प्रमुख बुढाथोकीले यसलाई तत्काल सञ्चालनमा ल्याउनका लागि मन्त्री अधिकारीलाई अनुरोध गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्