झापा,साउन ७ । त्रिभुवन विश्वविद्यालयमा स्नातक तह अन्तर्गत अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । कुनै एक विषयमा मात्र अनुत्तीर्ण भए पनि अर्को परीक्षाका लागि वर्ष दिनसम्म कुर्नपर्ने बाध्यताको अन्त्य गर्दै त्रिविले मौका परीक्षा दिन पाउने नीतिगत व्यवस्था गरेको हो । यो व्यवस्था कार्यान्वयनमा आएपछि विद्यार्थीले राहत महसुस गर्ने विश्वविद्यालयको अनुमान छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालका अनुसार प्राज्ञिक परिषद्ले यस विषयमा निर्णय गरिसकेको छ । सम्बन्धित निकायमा पत्राचार गरेर कार्यान्वयनका लागि निर्देशन दिइने उनले जानकारी दिए । मौका परीक्षाको अवसर एक वा दुई विषयमा अनुत्तीर्ण भएका परीक्षार्थीलाई मात्रै दिइने छ । बरालका अनुसार अन्तिम वर्षको परीक्षाको नतिजा सार्वजनिक भएको दुई साताभित्रमा मौका परीक्षा सञ्चालन गरिने छ ।

उक्त परीक्षाको नतिजा भने स्नातकोत्तर तहको नयाँ भर्नामा सहभागी हुन पाउने गरी सार्वजनिक हुने छ । अहिले चारबर्से स्नातकको अन्तिम वर्षको परीक्षामा कुनै एक विषयमा मात्रै अनुत्तीर्ण भए पनि अर्को परीक्षा वर्ष दिनपछि मात्रै दिन पाउने व्यवस्थाका कारण विद्यार्थी माथिल्लो तहमा अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था छ । साथै कुनै एक वर्षको परीक्षाको नतिजाको पर्खाइमा बस्नुपर्दा त्यस्ता विद्यार्थीले रोजगारीका लागि वा वैदेशिक अध्ययनका लागि आवेदन दिनसमेत नपाउने अवस्था छ ।

उपकुलपति बरालले भने, “यो व्यवस्था कार्यान्वयनमा आएपछि वार्षिक २० हजार विद्यार्थीले मौका परीक्षा दिन पाउने अनुमान छ ।” यस व्यवस्थाले विश्वविद्यालयप्रति विद्यार्थीमा थप भरोसा जगाउन सकिने विश्वविद्यालयको अपेक्षा छ ।

अहिले सेमेस्टर प्रणालीमा पढाइ हुने स्नातक र स्नातकोत्तर तहमा भने मौका परीक्षा सञ्चालन हुँदै आएको छ तर धेरै विद्यार्थी अध्ययन गर्ने स्नातक तहको वार्षिक प्रणालीमा भने यो व्यवस्था थिएन ।

त्रिविमा स्नातक तहका अन्य वर्षमा पनि एक वा दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीले माथिल्ला वर्षको पढाइ वा परीक्षा सकिँदासमेत नतिजा नआउने समस्या छ । अहिले पनि स्नातकमा तेस्रो वर्षको परीक्षाको तयारीमा जुटेका परीक्षार्थीले पहिलो वर्षमा अनुत्तीर्ण भएको विषयको परीक्षा दिन पाएका छैनन् । अन्य वर्षको अवस्था पनि उस्तै छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्