झापा, साउन १३ । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रमा १० प्रतिशतभन्दा बढी चुहावट भएको छ ।

आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन अनुसार चुहावटका कारण अनारमनी वितरण केन्द्रलाई १०.४५ प्रतिशत घाटा लागेको हो । वितरण केन्द्रले अनारमनी ग्रीडसंग १५ करोड ७२ लाख ७५ हजार ८१५ युनिट खरिद गरेकोमा १४ करोड ८ लाख ३६ हजार १६७ युनिटमात्र उपभोक्ताहरुलाई बिक्री गरेको देखिन्छ । आर्थिक वर्ष २०७९–८० मा चुहावट १३.१७ प्रतिशत रहेकोमा यस वर्ष १०.४५ प्रतिशतमा झार्न सफल भएको अनारमनी वितरण केन्द्रका प्रमुख संजीवकुमार साहले बताए । वितरण केन्द्रले १४ करोड ८ लाख ३६ हजार १६७ युनिट बिक्री गर्दा बिक्री मूल्य १ अर्ब ३४ करोड ४० लाख ९३ हजार १५३ रुपैयाँ हुन आउँछ । तर, वितरण केन्द्रले १ अर्ब ३१ करोड ८४ लाख २० हजार ९७३ रुपैयाँ महशुल संकलन गरेको देखिन्छ । जुन ९८.०९ प्रतिशत हो । गत वर्ष महशुल संकलन ९५.४१ प्रतिशत रहेको थियो ।

अनारमनी वितरण केन्द्रअन्तर्गत ९३ हजार ४१८ ग्राहक रहेका छन् । त्यसमध्ये गार्हस्थतर्फ ७६ हजार ७०८ , औद्योगिकतर्फ १३०९ , व्यापारिकतर्फ ८४० र अन्यतर्फ १४ हजार ५६१ रहेका छन् ।

वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि विभिन्न कार्वाही गरेपनि शून्यमा झार्न नसकिएको वितरण केन्द्र प्रमुख साहले बताए । उनले हुकिङ कार्वाही , मिटर छड्के निरीक्षण ,हुकिङ गर्दैगर्दा व्यक्तिलाई पक्राउ गरी कार्वाही गरिएको जानकारी दिए । यस वर्ष चुहावट कार्वाही युनिट १ हजार १४६ रहेको र जसबाट ७१ हजार ३३० रुपैयाँ जरिवाना असुल भएको वितरण केन्द्र प्रमुख साहले जानकारी दिए । त्यस्तै विद्युत चोरी गर्दा १३ जना पक्राउ परेका थिए । मिटर छड्के निरीक्षण ३०८ , मिटर रिसिलि १५० , हुकिङ थुतेको १३ रहेको छ । त्यस्तै बन्द मिटर बदलीतर्फ सिंगल फेज बदली संख्या ७५२ , थ्रीफेज बदली संख्या ३१ रहेको छ । औसत विलिवापत जम्मा ४ लाख १८ हजार ६९ युनिट उठ्दा २४ लाख ८२ हजार ३४४ रुपैयाँ असुल भएको वितरण केन्द्रले जनाएको छ ।

अनारमनी वितरण केन्द्रअन्तर्गत झापा र इलामका ६ वटा नगरपालिका , ५ वटा गाउँपालिका र दुईवटा सामुदायिक संस्था रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्