
झापा,भदौ २३ । नेपाली कांग्रेस कोशी प्रदेशका सांसद तथा पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध अनशन बस्ने घोषणा गरेपछि तरङ्ग सिर्जना भएको छ । कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आइतबार स्मरणपत्र पठाउँदै आफ्ना माग ४८ घण्टाभित्र पूरा नभए विराटनगरस्थित प्रदेशसभा भवनको गेटअगाडि अनशन बस्ने घोषणा गरेका हुन् ।
उनले दश वर्षमुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने माग राखेका छन् ।
यस्तै शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जङ्गल निर्माण गर्नुपर्ने माग पनि अघि सारेका छन् ।
सङ्घ र प्रदेशका सत्ता सहयात्री दलका एक सांसदले प्रदेश सरकारविरुद्ध अनशन बस्ने घोषणाले दुई दलबिच शङ्काको वातावरण पैदा हुनसक्ने कतिपय बताउँछन् । यद्यपि नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी भने केदार कार्कीले अनशन गर्नुको कुनै औचित्य नभएको बताए ।
‘त्यसको पछाडि कुनै औचित्य छैन । ‘उहाँको मुख्यमन्त्री छोड्नु परेको कुण्ठा हो । उहाँले राखेका माग पुरा गर्नुपर्ने कुनै कारण छैन, आधार छैन र सत्यता पनि छैन । कांग्रेस मौन देखिनुको अर्थ त्यसमा सहमत छैन भन्ने कुरा हो,’ उनले भने, ‘त्यो दलको सदस्य भएको नाताले त्यो दलले उहाँलाई कन्ट्रोल गर्ला भन्ने कुरामा हामी आशावादी छौँ ।’
नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले पनि केदार कार्कीले सुरु गर्ने भनेका अनशन लगायतका कार्यक्रम व्यक्तिगत भएको दाबी गरे । ‘उहाँको अभिव्यक्तिहरू सबै व्यक्तिगत हो । यो विषयमा पार्टीमा उहाँले राख्नु भएको पनि छैन । मुख्यमन्त्री हुँदा पनि उहाँले के के कार्यक्रम ल्याउनु भयो । त्यो विषयमा सल्लाह पनि भएको थिएन,’ कार्कीले भने, ‘सरकार गठन, विघटनबारे दलले गर्ने निर्णयले निर्भर गर्छ । उहाँ कांग्रेस दलको एक जना सदस्य हो । एक जनाले के गर्छ त्यो सबै दलको जिम्मेवारीभित्र पर्दैन । दलले जे निर्णय गर्छ त्यही आधिकारिक हुन्छ ।’
कार्कीले उठाएका केही विषयवस्तु सान्दर्भिक भएपनि त्यसको व्यवहारिक पक्ष हेर्नुपर्ने उनले बताए । ‘प्रदेशको आयस्रोतले धान्न सक्छ कि सक्दैन ? त्यसको कार्ययोजना छ कि छैन । यस विषयमा कांग्रेस अनविज्ञ छ,’ कार्कीले भने ।
यसअघि भदौ १४ गते प्रदेशसभा बैठकमा कांग्रेसको तर्फबाट विशेष समय लिएर बोल्दै केदार कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्की र सरकारको कडा आलोचना गरेका थिए । त्यस विषयमा पनि कांग्रेस दलको बैठकमा गम्भीर छलफल भएको उपनेता हिमाल कार्कीले जानकारी दिए ।
‘सदनमा उहाँले १४ गते कांग्रेसको तर्फबाट विशेष समय लिएर जुन अभिव्यक्ति दिनुभयो, त्यसमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । यो विषय दलको बैठकमा पनि छलफल भयो,’ उनले भने, ‘छलफलले दलको तर्फबाट बोल्ने माननीयहरूले आफूले बोल्ने विषयबारे दललाई जानकारी दिएर मात्रै बोल्ने भन्ने निष्कर्ष निकालेको छ ।’