बिर्तामोड, भदौ २४ । बिर्तामोडबाट तीन जना बेसहाराको उद्दार भएको छ ।

मानव सेवा आश्रमको सहयोगमा एक जना बृद्धसहित तीन जनाको उद्दार गरिएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उप– प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको टोलीले सोमवार दिउँसो उनीहरुको उद्दार गरेको हो ।

बिर्तामोड ४ बाट ९० वर्षीय छबिलाल तिम्सिना, बिर्तामोड ३ बाट १८ वर्षीय उजित सिंह र बिर्तामोड ६ बाट २२ वर्षीया विनिशा गौतमलाई उद्दार गरिएको हो ।
बृद्ध तिम्सिना विगत धेरै दिनदेखि बिरामी रहेको र कटेरोमा सुतेको अवस्थामा उद्दार गरिएको हो । उनको आफन्त कोही नभएकाले स्थानीयले उनलाई खानपिन गराउँदै आएका थिए ।

यस्तै सिंह सैनिकमोडको एउटा निर्माणाधिन घरमा रात कटाउँदै आएका थिए । मानसिक अवस्था ठिक नभएका सिंहले कहिले काँकरभिट्टा, गरामनी, कहिले भारतको पानीटंकी घर बताउने गरेका छन् ।

यस्तै गौतमको पनि मानसिक अवस्था ठिक छैन । बुट्टाबारीनजिकै शुभबिहानी टोलबाट उद्दार गरिएकी उनले मोरङको गछिया आफ्नो ठेगाना बताएकी छन् ।उद्दार गरिएका सबैलाई बिर्तामोड नगर प्रहरीको गाडीमा राखेर मानव सेवा आश्रम मेचीनगर पठाइएको नगर उपप्रमुख संग्रौलाले जानकारी दिए । उनले यस प्रकारका बेसहारा नागरिक बिर्तामोड क्षेत्रमा कोही भेटिए उद्दार गरिने पनि जानकारी दिए ।

मानव सेवा आश्रमका झापा संयोजक खगेन्द्र विश्वकर्माका अनुसार मेचीनगर आश्रममा मात्रै २८ जनाले आश्रय लिएका छन् । उनीहरु सबैजना झापाबाटै उद्दार गरिएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्