झापा, कात्तिक १२ । दुर्गा प्रसाईको निमन्त्रणामा आएका दिल्ली युनिभर्सिटीका राजनीति शास्त्रका प्रोफेसर डा. संगीतकुमार रागीलाई प्रहरीले प्रसाईको कार्यक्रममा भाग लिन रोक लगाएको छ ।

हिजो आएर बिर्तामोडको होटल किंग्सबेरीमा बसेका रागीलाई प्रहरीले कूटनीतिक मर्यादाविपरित बिना अनुमति प्रसाईको आन्दोलनको कार्यक्रममा भाग नलिन भनेर संझाएको हो । माथिको आदेश रागीलाई सुनाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । भारतीय प्रोफेसर आएर बसेको जानकारी आएपछि आफूले बुझ्न लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताए । उनले बिना अनुमति छिमेकी राष्ट्र नेताले आन्दोलनमा सघाउन आउन नमिल्ने भन्दै त्यसबारे केन्द्रसंग बुझ्ने काम भइरहेको जानकारी दिए ।

आफूले बोलाएको पाहुनालाई प्रहरी प्रशासनले अपमान गरेको बीएण्डसी अस्पतालका संचालक प्रसाईले आरोप लगाए । राति रागी बसेको होटलमा बिर्तामोडका डीएसपीको कमाण्डमा प्रहरी पुगेर कार्यक्रममा गए भने पक्राउ गर्छु भनेर सरकारले आफ्नो अतिथिको अपमान गरेको उनले बताए । त्यसबारे अहिले बिहान ९ बजे उनले पत्रकार सम्मेलन आयोजन गर्दैछन् ।

भारतबाट परिचालित भएको आरोप लागेका प्रसाईले आफ्नो कार्यक्रममा दिल्ली युनिभर्सिटीका राजनीति शास्त्रका प्रोफेसर रागीलाई बोलाएका हुन् । रागीले आज सुनसरीको इटहरीमा आयोजना हुने सभालाई संबोधन गर्ने कार्यक्रम रहेको छ ।हिन्दुवादी चिन्तकको रुपमा परिचित रागी दिल्लीबाट बागडोक्रा हुँदै त्यहाँबाट स्थल मार्गबाट नेपाल आएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्