लक्ष्मी उप्रेती
कन्काई । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गरेको छ । झापाको कन्काई नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि उक्त वडाका मतदाता दुई हजार ५८ जना छन् ।
कन्काई नगरपालिका वडा नम्बर ६ मा गत २०७९ भएको स्थानीय तह निर्वाचनमा एक हजार पुरुष र एकहजार ५० महिला गरी कुल दुई हजार ५० जना मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
स्थानीय तहको निर्वाचनपछि गत भदौ ३१ गते सम्म (उपनिर्वाचनको मिति घोषणाअघि) उक्त वडामा आठजना मतदाता बढेका छन् । २०७९ को स्थानीय तहको निर्वाचनका समयमा वडा नं. ६ मा एक हजार पुरुष र एक हजार ५० महिला गरी कुल दुई हजार ५० जना मतदाता थिए । अहिले मतदाताको संख्या एक हजार पुरुष र एक हजार ५८ महिलागरी कुल दुई हजार ५८ पुगेको छ । सो वडामा आठ जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयले समेत निर्वाचन प्रक्रिया शुरु गरिसकेको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, २०८१ का लागि स्थानीय तह, निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम सम्बन्धित जिल्ला अदालतका जिल्ला न्यायाधीशहरुलाई स्थानीय तहको मुख्यः निर्वाचन अधिकृतको पदमा र छ जना राजपत्राङ्गित कर्मचारीहरुलाई निर्वाचन अधिकृतको पदमा आयोगबाट कात्तिक २६ गतेदेखि लागु हुने गरी नियुक्त गरिएको छ ।
कन्काई नगरपालिका वडा नम्बर ६ मा हुने उपनिर्वाचनका लागि झापा जिल्ला अदालतका जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेललाई मुख्यः निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ । निर्धारित कार्यतालिका अनुसार नियुक्त मुख्यः निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतबाट कात्तिक ३० गते शुक्रबार सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी विभिन्न व्यवस्थापनसम्बन्धी कार्यसम्पादन हुने छ । कन्काईमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।
विविध कारणले रिक्त बनेका स्थानीय तहमा मंसिर १६ मा स्थानीय तहका विभिन्न ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैंछ । जिल्ला समन्वय समितिका प्रमुख गाउँपालिका अध्यक्ष दुई÷ दुईजना, उपाध्यक्ष चारजना,नगरपालिका प्रमुख र उपप्रमुख एक÷एकजना र वडाध्यक्ष ३४ वटा पद रिक्त छ ।
यो उपनिर्वाचनमा त्यस वडाबाट नेकपा एमालेका तर्फबाट तुलाराम बस्नेत, नेपाली काँग्रेसबाट पार्टीका वडा सभापतिसमेत रहेका रामगोपाल ओली, नेकपा माओवादी केन्द्रबाट गणेश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायण निरौला र स्वतन्त्र उम्म्ेद्वारका रुपमा लक्ष्मीप्रसाद ओलीले आफ्नो उम्मेद्वारी दिने भएका छन् ।
२०७९ सालमा भएको निर्वाचनमा नेकपा एमालेका तर्फबाट पाँचसय आठ मत प्राप्त गरी वडाध्यक्षमा विजयी दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा गत असारमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार इन्द्रप्रसाद नेपाललाई फराकिलो मतान्तरले पाखा लगाएर नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार बनेका लक्ष्मीप्रसाद ओली त्यस वडाको वडाध्यक्षमा विजयी बनेका थिए । २०७९ सालको निर्वाचनमा काँग्रेसबाट असन्तुष्ट बनेर बागी उम्मेद्वार बनेका ओली चारसय ४० मतका साथ दोस्रो स्थानमा रहेका थिए ।