एकजनाको मलद्वारबाट ३५ ग्रामसम्म ब्राउनसुगर बरामद

झापा, मंसिर १ । काँकरभिट्टा नाकाबाट मलद्वारमा लागूऔषध लुकाएर ल्याउने २३ जना कारोबारी पक्राउ परेका छन् ।

मलद्वारमा लुकाएर ल्याउँदा सुरक्षित हुने ठानेर त्यस उपायलाई धेरैले अपनाउन थालेपछि सशस्त्र प्रहरीले शिकारी कुकुरको सहयोगमा त्यस्ता कारोबारीहरुलाई पक्राउ गरेको हो । गत साउन १ देखि कात्तिक ३० गतेसम्म मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने २३ जना कारोबारी पक्राउ परेको सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाले जनाएको छ । कारोबारीले प्लाष्टिकमा पोको पारेर मलद्वारमा ३५ ग्रामसम्म ब्राउनसुगर ल्याउने गरेको पाईएको छ ।

गुल्मले चार महिनाको अवधिमा लागूऔषधसहित ३५ जनालाई पक्राउ गरेकोमा २३ जना मलद्वारमा ल्याउनेहरु रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज बिष्टले बताए । साथमा ल्याउने ७ जना , मुखमा हालेर ल्याउने एकजना ,हेल्मेटभित्र लुकाएर ल्याउने एकजना , सूर्तिको प्याकेटभित्र ल्याउने एकजना , झोलामा ल्याउने एकजना र साइकलको हेन्डलभित्र ल्याउने एकजना पक्राउ परेको डीएसपी विष्टले जानकारी दिए । चार महिनाको अवधिमा सशस्त्र प्रहरीले १६०.०१० ग्राम ब्राउनसुगर काँकरभिट्टा नाकाबाट बरामद गरेको छ । त्यसमध्ये ११८.०६० ग्राम ब्राउनसुगर मलद्वारबाट बरामद गरिएको डीएसपी विष्टको भनाई छ ।

सशस्त्र प्रहरीले काँकडभिट्टा नाकामा दुईवटा तालिमप्राप्त कुकुर राखेको छ । जोजो भन्ने कुकुरले सुँघेर लागूऔषध पत्ता लगाउने गरेको छ । त्यस्तै साथी नाम गरेको अर्को कुकुरले विष्फोटक पदार्थ पत्ता लगाउने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्