अर्जुनधारा, मंसिर १ । भद्रपुर नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम क्वाटरफाइनलमा दमक नगरपालिकालाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरीमा खेल सकिएपछि टाईब्रेकरबाट नतिजा निकालिएको हो । बराबरी भएको खेलमा भद्रपुरका लागि ७ औं मिनेटमा विकास राईले पहिलो र ४४ औं मिनेटमा प्रदीप बुढाथोकीले दोस्रो गोल गरे । दमकका लागि संजय धिमालले २० औं मिनेटमा पहिलो र किस्मत लिम्बूले ४२ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

टाईब्रेकरमा भद्रपुरका संजय लिम्बू, उदेश कामती, प्रदिप बुढाथोकी, विकास राई र रजिन सुब्बाले गोल गरे ।दमकका लागि गौरब धिमाल, रोशन धिमाल र रोशन तामाङले गोल गरे । आशिष लावतीले गरेको प्रहार गोलपोष्टमा ठोक्किएर फर्कदा दमकले पराजय भोग्यो ।

आजको खेलमा भद्रपुरका प्रदेश टुडू ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफी पाए । उनलाई भद्रपुरका नगर प्रमुख गणेश पोखरेल, प्रतियोगिताका संयोजक सिताराम भट्टराईलगायतले पुरस्कार प्रदान गरे ।

गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेका हुन् । गोल्डकपको फाइनल खेल मंसिर ५ गते हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छन् ।

प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार प्रदान गरिने छ ।

गोलडकपमा भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुने छ । भोलि हुने पहिलो सेमिफाइनलमा बिर्तामोड र शिवसताक्षी नगरपालिकाले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्