झापा, मंसिर ७ । झापा र इलाममा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ ।
हिजो बेलुका ५.३० बजे झापाको अर्जुनधारा– ४ का डम्बरबहादुर बस्नेतको गाईगोठमा खोले पकाउने क्रममा आगलागी भएको हो । आगलागीबाट काठको बेरा र टीनको छानो भएको बस्नेतको एकतले गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । शनिश्चरे प्रहरी चौकीको प्रहरी टोली र स्थानीयको सहयोगमा साँझ ६.१५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको र आगलागीबाट अन्दाजी ६ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।
त्यस्तै गएराति ८.१० बजे इलाम माङसेबुङ गाउँपालिका– २ पावा बस्ने डिल्ली लिम्बूको घरमा आगलागी भएको छ टिनको छानो, काठको बेरा भएको लिम्बूको दुई तले घरमा विद्युत सर्ट भई अचानक आगलागी हुँदा घर र घरभित्र रहेको सुन २ तोला, चाँदी ३ तोला, अलैची २ मन, अन्नपात, लत्ताकपडा, भाँडावर्तन गरी अन्दाजी १८ लाख ९७ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उक्त आगो प्रहरी टोली र स्थानीयबासीले राति ९ः५५ बजे पूर्ण रुपमा नियन्त्रणमा लिएका थिए ।