झापा, मंसिर ७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी–३ नयाँ मंगलबारेमा भएको मोटरसाइकल दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।

घटनास्थलमा दुईजनाको मृत्यु भएकोमा थप एकजना घाइतेको मृत्यु भएको हो । त्यस्तै अर्का घाइतेको अबस्था पनि चिन्ताजनक रहेको छ । घाइते कानेपोखरी–४ का अन्दाजी २५ वर्षीय अमृत लिम्बूको उपचारको क्रममा गएराति ८ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । त्यस्तै बीएण्डसीमै उपचार भइरहेको अर्का घाइते पथरीशनिश्चरे–५ का अन्दाजी ३७ वर्षीय विष्णु धिमालको अबस्था गंभीर रहेको छ । उनको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हिजो अपरान्ह ४ः४५ बजेतिर दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परेर हिजो मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २७ वर्षीय किशोर गुरुङको मृत्यु भएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उपचारका लागि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो। अस्पताल पुर्याउनसाथ दुवै जनालाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्