बिर्तामोड, मंसिर ७ । बिर्तामोड नगरपालिका वडा नं २ को साविक चारपाने गा.वि.स.वडा नं–२ देखि ९ सम्मका पुनः नाप नक्सा भएर दर्ता भएका जग्गाहरुको धनीपुर्जा वितरण गर्न थालिएको छ ।
आज एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले धनीपुर्जा बितरण कार्य शुभारम्भ गरिन् । ७६ वर्षीय देवीप्रसाद सापकोटालाई धनीपुर्जा दिएर उनले बितरण कार्य शुभारम्भ गरेकी हुन् । साविक चारपाने गाविसको जग्गा पुनः नाप नक्सा गरी दर्ता गर्न २ नं नापी टोलीले २०७७ असार १० गतेदेखि काम शुरु गरेको थियो ।
२ नं नापी टोलीले पुनः नाप नक्सा कार्य सम्पन्न गरी हाल साविक गरेका जग्गाहरुको धनी पूर्जा वितरण शुरु गरेको जनाइएको छ । २ नं नापी टोलीका प्रमुख सरोजकुमार बि.क.को अध्यक्षता तथा नगर प्रमुख प्रसाईको प्रमुख आतिथ्यमा भएको जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , नापी कार्यालय चन्द्रगढीका प्रमुख सुनिल आनन्द , विशेष नापी टोली दमकका प्रमुख दिलिपकुमार सिंह , २ नं वडाका वडाध्यक्ष किशोरकुमार पौड्याल, १ नं वडाका वडाध्यक्ष अग्निप्रसाद पाण्डेलगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले चन्द्रगढीमा गएर हाल साविक गर्नुपर्र्दा भन्झटिलो र खर्चिलो हुने भएकाले टोली आएकै बेला आ–आफ्ना जग्गाको हाल साविक गर्न आग्रह गरेका थिए ।
कार्यालयका लेखापाल देवेन्द्र चापागाँईले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सर्वेक्षक सलबहादुर तामाङले गरेका थिए । २ नं नापी टोलीले तीब्र रुपमा कार्य गरिरहेपनि अहिलेसम्म साविक चारपाने गाविसका ३७ प्रतिशत जग्गाधनीहरुले दर्ता गरेको टोली प्रमुख वि.क.ले बताए । उनले लामो समय टोली नरहने भएकाले छिटोभन्दा छिटो आएर आ–आफ्नो जग्गाको हाल साविक गराउन आग्रह गरेका छन् ।