झापा , मंसिर १२ । कन्काई ३ मा गौहत्यापछिको चर्किएको आन्दोलन अराजक बनेपछि गएराति कोटीहोम क्षेत्र तनावग्रस्त बन्यो ।
हिजो साँझ सुरुङ्गामा साम्य भइसकेको आन्दोलनलाई आन्दोलनकारीहरुले राति कोटीहोममा पुनः चर्काउँदा स्थिति तनावग्रस्त बनेको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै ७ सेल अश्रुग्यास प्रहार गरेको छ ।
गाईलाई काटेर खाएको घटनापछि प्रहरीले आरोपितहरुलाई पक्राउ गरेर मृत गाईलाई घटनास्थलनजिकै गाढ्ने तयारी भइरहेको थियो । तर, गाईधनी लीलाप्रसाद सिलवालको जग्गामै लगेर गाढ्ने भन्दै मृत गाईलाई हात्ती गाडीमा हालेर सुरुङ्गा बजारमा आन्दोलन शुरु गरिएको थियो । गौं बंश संरक्षणका केन्द्रीय अध्यक्ष एवं गोलोक गोवर्धन गौशाला सतासीधामका संरक्षक नन्दकिशोर भारद्वाज महाराजको नेतृत्वमा अर्जुनधारा जलेश्वर धामबाट आएका ३०÷३५ जना धर्मगुरु र स्थानीय गरी करिब २५० जनाको संख्यामा भेला जम्मा भई “गौं हत्या बन्द गर, हत्यारालाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर, नेपाल सरकार मुर्दावाद“ जस्ता नाराहरु लगाएर बिरोध प्रदर्शन गरेका थिए । मृत गाईलाई सुरुङ्गा चोकस्थित पूर्वपश्चिम राजमार्गमा ल्याई साँझ ५ः४० देखि ६ः१५ बजेसम्म चक्काजाम गरेका थिए । त्यसपछि प्रहरीले आन्दोलनकारीलाई संझाई बुझाई चक्काजाम खुलाएको थियो ।
त्यस मृत गाईलाई अन्त्येष्टिको लागि कन्काई नदीतर्फ लाने भन्दै आन्दोलनकारीहरुले साँझ ७.५५ बजेदेखि कन्काई–४, कोटीहोमस्थित कन्काई पुलनजिक पूर्वपश्चिम राजमार्गमा पुनः चक्काजाम गरेका थिए । मृत गाई राखेको गाडीलाई सडकमा तेर्स्याएर गोलोक गोवर्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाज महाराजको नेतृत्वमा चक्काजाम गरेका थिए । उनीहरुले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै ७ सेल अश्रुग्यास प्रहार गरेको हो ।
तितरबितर बनाउने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनकारीहरुको ढुंगा लागेर दुई प्रहरी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरीका एकजना हवलदार सामान्य चोट लागेर घाइते भएका हुन् । आन्दोलनकारीतर्फ गोलोक गोवर्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाजसहित केही घाइते भएको बताइएको छ ।
आन्दोलनकारीहरुले तोडफोड गरी ३ वटा सवारीसाधनमा क्षति पुर्याएका छन् । आन्दोलनकारीहरु उग्र भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको थप जनशक्ति मगाइएको थियो । आन्दोलनकारीहरु तितरबितर भएपछि कन्काई नदीमा सो मृत गाईको अन्त्येष्टि गरिएको थियो ।
प्रहरीले गाई काटेको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा बाह्रदशी –४ ठेगाना भएका ४० वर्षीय बुदना आलमलगायतलाई पक्राउ गरेको हो । मुख्य आरोपी आलमलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । अन्यलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाइएको छ । स्थानीय लीला संग्रौलाको घरमा डेरा लिएर ज्याला मजदुरी गर्ने उनीहरुले कन्काई –३ स्थित टप्पु बस्ने पूर्णप्रसाद फुयाँलको गोठमा बाँधेको लीलाप्रसाद सिलवालको पहिलो बेते लैनो गाई चोरी गरी काटेका थिए ।