धरमपुर , मंसिर १२ । नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ शिवसताक्षीले ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर यौनिक अल्पसंख्यक भएका तीनजनालाई सम्मान गरेको छ।

नगरको ३ नम्बर वडा पाराबारीस्थित हाट खोलामा आयोजित एक कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको अखिल नेपाल महिला संघ शिवसताक्षी नगर कमिटीले जनाएको छ। संगठनका सचिव चन्द्रकला सापकोटाका अनुसार लिड नेपाल झापाका कार्यक्रम संयोजक लुना लिम्बू चञ्चलासहित हस्त मगर र एनी भुजेललाई सम्मान गरिएको हो। उनीहरू यौनिक अल्पसंख्यक हुन्।

कार्यक्रमका वक्ताले हिंसा प्रभावित महिलालाई न्यायमा पहुँचको कमी भएकाले उनीहरूको न्यायमा पहुँच बढाउन जरूरी रहेको धारणा राखेका थिए । महिलाहरू घरेलु हिंसामा परिरहेका घटनाहरू अझै पनि छन् । घरेलु हिंसामा परेका महिलाहरूको न्यायमा पहुँच पुर्याउन मात्र होइन, हिंसाका हरेक घटनाबाट उनीहरूलाई मुक्ति दिलाउन आवश्यक रहेको कार्यक्रमका वक्ताले बताए । कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य चन्द्रकुमार शेर्मा, पार्टीका झापा जिल्ला सल्लाहकार समितिका संयोजक राधाकृष्ण खनाल, जिल्ला कमिटी सदस्य नरमाया कार्की, नेकपा एमाले शिवसताक्षी नगरकी उपसचिव कल्पना चौलागाईं, शिवसताक्षी नगरकार्यपालिका सदस्य गोमा रिजाललगायतले महिलामाथि कसैले पनि कुनै पनि तरहको हिंसा गर्न नहुने बताएका थिए।

अखिल नेपाल महिला संघ शिवसताक्षी नगर कमिटीकी अध्यक्ष कोपिला चौलागाईं मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष निर्मला प्रसाईले गरेकी थिइन् भने सहजीकरण सचिव चन्द्रकला सापकोटाले गरेकी थिइन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्