झापा,मंसिर १३ । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई उच्च तापक्रम (हिट स्ट्रेस)बाट मुटु र मिर्गौला फेल जस्ता जटिल प्रकृतिका स्वास्थ्य समस्या हुने गरेको भन्दै त्यस्तो जोखिमबाट बचाउन श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षणलाई सुनिश्चित गर्नुपर्ने औँल्याइएको छ ।
श्रमिकको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित विशेषज्ञ अध्ययन कार्यदलले श्रमिकको स्वास्थ्य जोखिम कम गर्न ‘सेन्टरलाइज्ड डिजिटल रेपोजिटरी सिस्टम’ स्थापना गर्न सरकारलाई सिफारिस गरेको हो।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंहको नेतृत्वमा गठित उच्चस्तरीय विशेषज्ञ सम्मिलित कार्यदलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई सुझावसहितको प्रतिवेदन पेश गरेको हो ।

श्रम मन्त्रालयले गत भदौ १३ गते वैदेशिक रोजगारीमा जाने र गएका नेपालीको स्वास्थ्य परीक्षणको बिषयमा अध्ययन गरी सुझाव दिन विज्ञ सम्मिलित ३० सदस्यीय अध्ययन कार्यदल बनाइएको थियो । जसमा वीर, टिचिङ, पाटन, सहिद धर्मभक्त, शुक्रराज टोपिकल, क्रिष्ट मेडिकल, तिलगंगा आँखा अस्पताल लगायतका विशेषज्ञ डाक्टरहरु छन् ।

प्रतिवेदनले स्वास्थ्य संस्था, चिकित्सक र श्रमिकलाई जिम्मेवार बनाई गुणस्तरीय स्वास्थ्य परीक्षणको सुनिश्चित गर्न र मेडिकल फिट सम्बन्धी रिपोर्ट दिने गलत अभ्यासलाई शतप्रतिशत अन्त्य गर्नको लागि स्वास्थ्य संस्थालाई ‘डिजिटलाईजेशन’ गर्न जरुरी देखिएको जनाएको छ ।
कार्यदलका अध्यक्ष डा. सिंहले कामको आधारमा स्वास्थ्य परीक्षण नहुँदा श्रमिकको स्वास्थ्य जोखिममा परेको बताए । ‘हामीले वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण नभइरहेको देखियो । अहिले जे भइरहेको छ, त्यो विधि पु¥याउन मात्रै छ । वास्तविक स्वास्थ्य परीक्षण छैन,’ उनले भने ।

उनका अनुसार वैदेशिक रोजगारीमा मृत्युको कारणलाई स्पष्टरुपमा खुलाउन जरुरी रहेको छ । वैदेशिक रोजगार बोर्डमा क्षतिपुर्तिको लागि पेश हुने मृतक प्रमाणपत्रमा मृत्युको कारण स्पष्ट रुपमा उल्लेख गरीएको हुदैन । अधिकांश मृतक प्रमाणपत्रमा ‘नेचुरल, सडेन डेथ, हृदयघात, अननेचुरल’ जस्ता शब्दहरु लेखिएको हुन्छ ।

‘अहिले श्रमिकको सबैभन्दा ठुलो हिट स्ट्रेसको कारणले थप स्वास्थ्य जोखिम देखिएको छ । मिर्गौला फेल हुने देखि मुटुको समस्या बढेर आएको छ,’ उनले भने, ‘यी बिषयलाई रोकथाम गर्न श्रमिक जानेदेखि कार्यस्थलमा रहदासम्म डिजिटल ट्र्याकिङ गरी श्रमिकको पुर्ण स्वास्थ्य विवरण राख्ने संयन्त्र विकास गर्नुपर्छ ।’

वैदेशिक रोजगारमा जाने नेपालीको स्वदेश र गन्तव्य देशमा उचित स्वास्थ्य परीक्षण नहुँदा र परीक्षण गर्नको लागि पहुँच नहुँदा अकालमा ज्यान गइरहेको प्रतिवेदनले औँल्याएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार हरेक वर्ष एक हजार जना नेपालीको ज्यान गइरहेको छ ।

बोर्डको अभिलेख अनुसार पछिल्लो १४ वर्ष (००८÷९ देखि २१÷२२) सम्म १४ हजार ६ सय ६६ जना श्रमिकको मृत्यु भएको थियो । जसमा सबैभन्दा बढी कार्डियक एरेष्ट÷हृदयघातबाट १९ प्रतिशत, नेचुरलबाट १९.५ प्रतिशत र कार्यस्थल दुर्घटनाबाट ७ प्रतिशत, सडक दुर्घटनामा १२.७, आत्महत्याबाट ११ प्रतिशत र बाँकी ३०.८ प्रतिशत अन्य कारणले मृत्यु भएको छ ।

कार्यदलको प्रतिवेदन अनुसार अधिकांश स्वास्थ्य संस्थाहरू नेपाल सरकारको मापदण्ड पनि पूरा नभएकोप्रति ध्यानाकर्षण जनाउदै नेपाल सरकारबाट सूचीकृत भएका स्वास्थ्य संस्थाहरू (सम्बन्धित देश मार्फत छनौट भएका तथा नभएका)लाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार स्तरीकृत गरी सबै देशको लागि एकरुपता बनाउन सरकारले एकद्धार प्रणालीको लागि पहल गर्न सुझाव दिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्